ताप्लेजुङ, ३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले एमाले संसद्मा दोस्रोस्तरको पार्टी भए पनि राष्ट्रिय राजनीतिमा सबैभन्दा अघि रहेको बताउनुभएको छ ।
ताप्लेजुङको ढुङ्गेसाँघुमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोख्रेलले एमाले जनताको पक्षमा उभिएको पहिलो पार्टी भएको दाबी गर्नुभयो ।
उहाँले एमाले राष्ट्रिय स्वाभिमान, संविधानको संरक्षक भएकाले आफ्नो स्वाभिमानमा नझुक्ने स्पष्ट पार्नुभयो । “आज एमाले जहाँ उभिएको छ, राष्ट्रिय राजनीतिको मियोसमेत त्यही गाडिएको छ,” उहाँले भन्नुभयो – “एमालेले सरकारको नेतृत्व गरिरहेको समयमा केही टीकाटिप्पणी आए पनि संविधान र राष्ट्रिय स्वाभिमानको पक्षमा जो उभिन्छ, सबैसँग हातेमालो गर्न एमाले तयार छ ।”
प्रधानमन्त्रीको चीन भ्रमणको प्रसङ्गमा उहाँले चीन भ्रमणका बेला अहिलेसम्म नगरिएका सम्झौता हुने दाबी गर्दै सबै सम्झौता मुलुक र जनताको स्वाभिमानको पक्षमा हुने बताउनुभयो ।
ताप्लेजुङ क्षेत्र नं २ ले आयोजना गरेको रजत महोत्सव साथै एमाले मेची अञ्चलले आयोजना गरेको मेची पर्यटन प्रवद्र्धन कार्यक्रमको उहाँले स्वर्गीय मदन भण्डारीको जन्मस्थल तथा पुख्र्यौली घर रहेको ढुङ्गेसाँघुमा आजै समापन गर्नुभयो ।
कार्यक्रममा महासचिव पोख्रेल, सचिव योगेश भट्टराईलगायत केन्द्रीय, क्षेत्रीय तथा अञ्चल र जिल्लास्तरीय नेताको सहभागिता रहेको थियो ।
महोत्सव फागुनको पहिलो सातादेखि एमाले ताप्लेजुङले सुरु गरेको थियो भने मेची पर्यटन प्रवद्र्धन अभियान एमाले मेची अञ्चल कमिटीले शुक्रबार झापाबाट सुरु गरेको थियो । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । रासस
No comments:
Post a Comment