भक्तपुर, २५ फागुन । भैरव नाइकेको तलब निर्धारण भएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा गुठी संस्थान भक्तपुर कार्यालय, सरोकार भएका र नाइकेको संयुक्त बैठकले सो निर्णय गरेको हो । तलब नभएको र जात्रा सञ्चालनमा समस्या परेकाले काम गर्न नसक्ने भन्दै नाइकेबाट समेत राजीनामा बुझाएकामा तलब निर्धारण भएपछि राजीनामा फिर्ता लिइएको गुठी संस्थान कार्यालय भक्तपुरले जनाएको छ ।
गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले बैठकमा भएको सहमतिअनुसार छ नाइकेलाई प्रतिव्यक्ति रु चार हजार ५०० का दरले मासिक तलब दिने निर्णय भएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयमा भएको निर्णय संस्थान केन्द्रीय कार्यालयमा पठाइएको जानकारी दिँदै उहाँले अब जात्रामा नाइकेको समस्या नहुने जिकिर गर्नुभयो ।
संस्थान केन्द्रीय कार्यालयले भैरव र बिस्केट जात्रा सञ्चालनका लागि लाग्ने खर्च र आम्दानी विवरण माग गरेको छ । विगतका वर्षमा भैरव गुठीका नाममा रहेको जग्गाबाट आउने कुत नाइकेले पाउने व्यवस्था गरिए पनि धेरै जस्ता रैथाने भइसकेका र बाँकी करिब ९० रोपनी जग्गाबाट पनि कतिपयले कुत नबुझाएका कारण नाइकेले समस्या झेल्दै आएका थिए ।
छ नाइकेले बाँडेर लिने गरी वार्षिक रु ८४ हजार मात्रैसंस्थानले दिँदै आएको थियो । नाइकेमध्येका मूल नाइके ज्ञानबहादुर छुँका, मोतीबहादुर सुवाल, लक्ष्मीप्रसाद घेमसु, नारायणप्रसाद घेमसु र कृष्णगोपाल नागा छन् भने नाइकेमध्येका आशाबहादुर छुँकाको मृत्यु भएकाले एक पद रिक्त छ ।
संस्थानले रिक्त नाइके पदपूर्तिका लागि तीन महिनाअघिदेखि माग गरेर सूचना सार्वजनिक गरे पनि अझै कसैले दरखास्त नहालेको कार्यालयका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ११ र १२ को साबिक पुराना ५५ घरका छुँका, सुवाल, घेमसु र नागा थरका व्यक्ति मात्रै नाइके हुन पाउने प्रावधान छ । तलब कम तर काम धेरै हुने भएकाले अहिलेसम्म दरखास्त नआएको हो । बिस्केट जात्रा सञ्चालन हुनुअघिसम्म रिक्त नाइके पदपूर्ति गरिसक्नुपर्ने हुन्छ । रासस
––––––––––
No comments:
Post a Comment