Tuesday, April 19, 2016

सङकटम परक कयमपसलई परवस सहयग

govinda-gautam2पर्वत । चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको पर्वत बहुमुखी क्याम्पस फलेवास, देविस्थानलाई रुसमा बस्दै आएका गैरआवासीय नेपाली गोविन्दप्रसाद गौतमले आर्थिक सहयोग गर्नुभएको छ ।

पर्वतको देविस्थान घर भई रुसमा व्यवसाय गर्दै आउनुभएका गौतमले क्याम्पसलाई रु एक लाख ५५ हजार आर्थिक सहयोग गर्नुभएको हो । गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यसमेत रहनुभएका गौतमले काठमाडाँैमा आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । आफ्नो गाउँमा खुलेको र आर्थिक सङ्कटमा रहेको क्याम्पसलाई सहयोग गरेको गौतमले बताउनुभयो । “म विगत तीन दशकदेखि रुसमा रहेपनि सधैँ आफ्नो जन्मस्थान याद आउने गरेकाले सहयोग गरेको हुँ”, उहाँले भन्नुभयो ।

गौतमले यही वर्ष मात्र देविस्थानकै भूकम्पपीडितलाई दुई लाख रुपैयाँका जस्तापाता सहयोग गर्नुभएको थियो भने गाउँकै चन्दनी प्राविलाई रु दुई लाख, आफूले अध्ययन गरेको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च माविलाई रु एकलाख सहयोग गरिसक्नुभएको छ । गाउँका विद्यार्थीलाई छात्रवृत्तिदेखि वृद्धवृद्धाको सम्मानमा समेत अग्रसर गौतमले क्याम्पसले राम्रो प्रगति गर्दै गएमा आफूले थप रु पाँच लाख सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा सहभागी हुन आउनुभएकी एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य बेलायत निवासी सुष्मा राईले पनि आफूले क्याम्पसका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पर्वत क्षेत्र नम्बर २ का सांसद विकास लम्सालले अग्रजले गाउँमै शैक्षिक संस्था स्थापना गरेकाले आफूहरु यहाँसम्म आउन सकेको भन्दै क्याम्पस सञ्चालन र स्तरवृद्धिका लागि सहयोग गर्न आफू पनि तयार रहेको बताउनुभयो ।

पर्वतको पहिलो क्याम्पसका रुपमा २०४१ सालमा स्थापना भएको क्याम्पस धौलागिरिकै पुरानो क्याम्पस हो । क्याम्पसमा अहिले पर्वत, बाग्लुङ र गुल्मी जिल्लाका करिब २०० भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको क्याम्पसले जनाएको छ । सामुदायिक क्याम्पस भएकाले आर्थिक अभावमा दुई वर्षयता प्राध्यापकलाई तलब खुवाउनसमेत समस्या परेका बेला आर्थिक सहयोग सङ्कलन अभियान चलाइएको क्याम्पस प्रमुख जगतबहादुर कुँवरले बताउनुभयो ।

रजत जयन्तीको अवसर पारेर काठमाडौँमा चलाइएको अभियानमा हालसम्म रु ३० लाखभन्दा बढी सङ्कलन भएको छ । क्याम्पसले रजत जयन्ती महोत्सवको सन्दर्भ पारेर आर्थिक सङ्कलन अभियानलाई पनि तीव्रता दिएको छ । हालसम्म करिब रु ६० लाख सङ्कलन भइसकेको छ भने रु एक करोड सङ्कलन गर्ने लक्ष्य लिइएको क्याम्पस प्रमुख कुँवरले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts