काठमाडौँ, ११ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारिताको विकृति अन्त्य गर्दै जवाफदेही बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
‘प्रभाव’ राष्ट्रिय दैनिकको दोस्रो वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री राईले संविधान कार्यान्वयनका लागि सञ्चारमाध्यमले जिम्मेवार र प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पत्रकार र पत्रकारिकाताका लागि न्यूनतम मापदण्ड बनाउने तयारीमा सरकार लागिरहेको जानकारी दिँदै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले पत्रकारको पारिश्रमिक जीउन सक्ने गरी वृद्धि गर्न लागिएको बताउँदै केही दिनमै न्यूनतम पारिश्रमिकको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले प्रभाव दैनिकलाई सफलताको शुभकामना दिँदै सबैको विश्वासिलो पत्रिकाको रुपमा यसलाई स्थापित गर्न आग्रह गर्नुभयो ।
प्रभाव दैनिकका सम्पादक कमल श्रेष्ठले संविधान निर्माण र भूकम्पपछिको पुनःनिर्माणलाई केन्द्रमा राखेर आफूहरुले पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment