नेपालगन्ज, २० चैत । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले प्रेस स्वतन्त्रता टिकाइराख्ने हो भने सञ्चारगृहलाई जवाफदेही र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ ।
मिडिया एड्भोकेसी ग्रुपद्वारा आज यहाँ आयोजित सञ्चार नीतिसम्बन्धी कार्यशाला गोष्ठी शुभारम्भ समारोहमा उहाँले सरकारले तय गरेको सञ्चार नीतिभन्दा बाहिर गएर सञ्चारगृह सञ्चालन गर्नेमाथि कारबाहीको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
सरकारले नयाँ सञ्चार नीति ल्याउने गृहकार्य गरिरहेकाले कस्तो सञ्चार नीति आवश्यक छ, त्यसका लागि पत्रकार र सरोकारवालासँग व्यापक छलफल हुनुपर्नेमा पनि उहाँको जोड थियो ।
त्यस अवसरमा गु्रपका अध्यक्ष बबिता बस्नेतले सञ्चार नीति जारी गर्नुअघि लैङ्गिक संवेदनशीलताका विषयमा पनि छलफल गर्नुपर्ने र सञ्चारगृहलाई महिलामैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
सो कार्यशाला गोष्ठीमा बाँके, बर्दिया, सुर्खेत, दैलेख र दाङका ३० जना पत्रकारको सहभागिता रहेको थियो ।
यसैगरी, आजै यहाँ आयोजित पत्रकारका लागि ‘नागरिक शिक्षा तालिम’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष डा विष्टले व्यावसायिक पत्रकारिता नागरिकमुखी हुनुपर्ने बताउनुभयो ।
तालिममा नागरिक शिक्षाका ज्ञाता चन्द्रदेव भट्ट र पत्रकार बबिता बस्नेतले नागरिक शिक्षा र नागरिक पत्रकारिताका विविध विषयमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । रासस
No comments:
Post a Comment