कञ्चनपुर, ११ वैशाख । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा संरक्षित जनावरलाई सुख्खा याममा पानीको व्यवस्था गर्न बोरिङ जडान गरिएको छ । कृतिम पोखरी निर्माण गरी बोरिङबाट पानी भर्ने कार्य आरक्ष कार्यालयले गर्दै आएको छ ।
शुक्लाफाँटा र बाबा पोखरीमा चारवटा बोरिङ जडान गरी वन्यजन्तुलाई पानीको व्यवस्था मिलाइएको आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताउनुभयो ।
“आरक्षभित्र रहेका प्राकृतिक पानीका स्रोतले सुख्खायाममा वन्यजन्तुलाई प्रर्याप्त पानीको व्यवस्था नहुने भएकाले बोरिङ जडान गरी पानीको व्यवस्था मिलाएका छौँं” उहाँले भन्नुभयो । बाह्रैमहिना पोखरीमा एकनासको पानी रहने भएकाले वन्यजन्तुलाई यसबाट पिउने पानीको अभाव हुन नपाएको उहाँले उल्लेख गर्नु भयो ।
यसैगरी, आरक्ष भित्रकै शुुक्लाफाँटा, बाघ पोखरी र सुके पोखरीमा सौर्य ऊर्जा जडान गरी पम्पबाट पानी तानी पोखरीमा राख्ने व्यवस्था गरिएको छ ।
प्राकृतिक तालतलैया जीवजन्तुका लागि पानीको मुख्य स्रोत भएकाले आरक्ष क्षेत्रमा रहेका तालहरूको सरसफाइ गरिएको छ ।
“वन्यजन्तुको लागि आरक्ष क्षेत्रभित्र खानेपानीको व्यवस्था मिलाइएको हुँदा वन्यजन्तु आरक्ष बाहिर जाने सम्भावना कम भई मानव वन्यजन्तु द्वन्द्व कम भएको देखिएकाले यो कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने छ” उहाँले भन्नुभयो । रासस
No comments:
Post a Comment