इलाम, ३ वैशाख । अमेरिका निर्यात हुँदै आएको नेपाली छुर्पीको निर्यात यो वर्ष घटेको छ ।
भूकम्प र नाकाबन्दीका कारण निर्यात घटेको हो । अमेरिकामा छुर्पी निर्यात गर्दै आएको हिमालयन कर्पोरेसनले साउनदेखि पुस महिनासम्ममा ५० हजार किलो मात्र छुर्पी निर्यात गरेको जनाएको छ । कर्पाेरेसनले अघिल्लो वर्षको यही अवधिमा करिब तीन लाख किलो छुर्पी निर्यात गरेको थियो ।
“अघिल्लो वर्ष कुनै अवरोध नहुँदा यतिधेरै छुर्पी निर्यात सम्भव भयो,” कर्पोरेसनका सुजन श्रेष्ठले भन्नुभयो । इन्धन अभाव भएपछि ढुवानी महँगो हुँदा छुर्पी निर्यात घटेको हो । वार्षिक चार लाख किलो बढी छुर्पीको माग भए पनि पु¥याउन सकिएको छैन ।
खासगरी कुकुरको आहाराका लागि छुर्पी निर्यात हुन थालेपछि किसानले यथेष्ट कमाइए गर्न थालेका छन् । इलाम, पाँचथर, ताप्जेजुङ, तेह्रथुम, भोजपुरहुँदै सिन्धुपाल्चोक, धादिङलगायत जिल्लाबाट छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात गरिन्छ । व्यवसायीले ग्रेडिङका आधारमा नेपालबाट प्रतिकिलो रु ३५० देखि रु ६५० का दरले छुर्पी खरिद गरेर निर्यात गर्दै आएका छन् ।
जिल्लामा १०० बढी साना डेरीमा छुर्पी बनाइन्छ । तर, साना उद्योग मात्र भएकाले गुणस्तरीय छुर्पी उत्पादन हुन सकेको छैन । इलाम बजारमा प्रतिकिलो रु ३०० देखि रु ४०० सम्ममा छुर्पी बिक्री हुने गरेको फाकफोकका व्यवसायी नरबहादुर बस्नेत बताउनुहुन्छ ।
जिल्लामा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ भने वार्षिक २०७ मेट्रिकटन छुर्पी उत्पादन हुने बताइएको छ । रासस
No comments:
Post a Comment