ताप्लेजुङ, २ वैशाख । ताप्लेजुङ नगरपालिकामा आज साँझ परेको चट्याङ लागेर एक वृद्धाको ज्यान गएको छ ।
साँझ परेको चट्याङका कारण ताप्लेजुङ नगरपालिका–४ निवासी विष्णुकुमारी राजभण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साँझ करिब ६ः३० बजे वर्षासँगै एक्कासी परेको चट्याङ लागेर भान्साकोठामा काम गर्दै गरेकी राजभण्डारी बेहोस भएर ढलेकी थिइन् । उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।
जिल्लाकै फुरुम्बो–२ का ५० वर्षीय शुक्रवीर भट्टराई चट्याङ लागेर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । ताप्लेजुङमा आज साँझ ठूलो हावाहुरीसहित वर्षा भएको थियो ।
यसैबीच गत चैत १५ गते बिहान परेको चट्याङले लागेर घाइते भएकी ताप्लेजुङ नपा–३ की अम्बिका विकको आज मृत्यु भएको छ । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचारत विकको मृत्यु भएको हो । रासस
No comments:
Post a Comment