जाजरकोट, ४ वैशाख । स्थानीयवासीले मरेको सिनोमा विष हाल्ने गर्नाले जाजरकोटको उत्तरी–पूर्वी क्षेत्रमा लोपोन्मुख गिद्ध लोप हुने खतरा बढेको छ ।
स्थानीयवासीमा गिद्ध संरक्षण गर्ने चासो नहुँदा गिद्ध लोप हुने खतरा बढेको हो ।
जिल्लाको नायकवाडा, सक्ला, लहँ र रग्दा गाविसका धेरै ठाउँमा गिद्धको वासस्थान प्रशस्तै रहे पनि हिजोआज गिद्ध संरक्षणमा समस्या भएको छ ।
यी गाविसमा २०७० वैशाख १ गते राष्ट्रिय पक्षी संरक्षण सङ्घका कृष्ण भुसालको टोली पुगेर राँगो काटेर गिद्ध गणना गर्ने कार्य भएको थियो ।
जसमा ३६ वटा हिमाली गिद्ध, दुईवटा हाडे गिद्ध, एउटा सेतो गिद्ध र दुईवटा सुन गिद्धका प्रजाति भेटिएका थिए । हाडे गिद्ध र सेता गिद्धको गुड नभेटिएको राष्ट्रिय पक्षी संरक्षण सङ्घका सदस्य गोविन्दबहादुर सिंहले बताउनुभयो ।
यसको दुई महिना अगाडि मात्रै नायकवाडा र सक्लाको सिमानामा दुईवटा र अन्य गाविसका छुट्टाछुट्टै ठाउँमा गरी सातवटा मरेका गिद्ध भेटिएको उहाँको भनाइ छ ।
जथाभावी वन फँडानी र मनपरी ढङ्गले वनमा डढेलो लगाउने कार्यले समेत गिद्धको वासस्थानलाई प्रतिकूल असर पारेको छ । रासस
No comments:
Post a Comment