काठमाडौँ, २० वैशाख । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा खेल मैदानमा सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा पुलिसले पूर्वाञ्चल महिला टोलीलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । महिला लिगमा पुलिसको यो तेस्रो उपाधि हो । यसअघि भएका दुवै संस्करणको खेलमा पुलिसले उपाधि जितेको थियो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पुलिसलाई जित दिलाउन दुवै गोल निरु थापाले गरिन् । उनले छैटाँै मिनेटमा नै पहिलो गोल गर्दै खाता खोलिन् । पहिलो हाफसम्म एक शून्यले अगाडि रहेको पुलिस दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७० औँ मिनेटमा पूर्वाञ्चलककी हिना रानाले गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याइन् ।
त्यस्तै हिनाले गोल गरेको करिब १४ मिनेट पनि बित्न नपाउँदै पुलिसकी निरुले पेनाल्टीमार्फत खेलको (८४ औँ मिनेट) मा पुन एक गोल थप्दै टिमको जित सुनिश्चित गरिन् । पुलिसले उपाधिसँगै रु दुई लाख प्राप्त ग¥यो ।
त्यसैगरी उपविजेतामा चित्त बुझाएको त्रिभुवन आर्मी क्लबले भने रु एक लाख हात पा¥यो ।
प्रतियोगितामा उत्कृष्ट डिफेन्डरको उपाधि पुलिसकी खेमकुमारी घलेले पाइन् । त्यस्तै गोलकिपर आर्मीकी लीला लाम्घाडे, मिडफिल्डर एपिएफका अनिता बस्नेत, फरवार्ड एपिएफकै सावित्री भण्डारी र प्रशिक्षकमा पुलिसका सन्देश श्रेष्ठ उत्कृष्ट चुनिए । उनीहरुले जनही रु २५ हजार प्राप्त गरे ।
राउन्ड रोबिन लिगका आधारमा भएको सुपर लिगमा तीनवटै विभागीय टोलीको समान ६–६ अङ्क भएपनि नेपाल पुलिस हेड टु हेडका आधारमा च्याम्पियन बनेको हो ।
त्यसैगरी सुपर लिगमा पूर्वाञ्चल अङ्क बिहिन बन्यो । सुपर लिगमा पुलिस आर्मीसँग पराजित भएको थियो भने आर्मी एपिएफसँग हारेको थियो ।
विजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । राष्ट्रिय लिगमा तिन विभागीय टोलीसहित पाँच क्षेत्रीय टोलीको सहभागिता रहेको थियो ।
मुद्दा फिर्ता लिए तदर्थ समिति भङ्ग
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)को निर्वाचित समितिले अदालतमा रहेको विचाराधीन मुद्दा फिर्ता लिए तदर्थ समिति भङ्ग गर्न आफूहरु तयार रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सदस्य–सचिव विष्टले क्रिकेटको विकासका लागि सबै पक्षलाई एकै स्थानमा ल्याएर विवाद समाधान गर्नका लागि राखेपले पहल सुरु गरिसकेको बताउनुभयो ।
क्रिकेटको भविष्यका लागि पनि आपसी विवाद र व्यक्तिगत महत्वकांक्षालाई त्यागेर अगाडि बढ्नुपर्ने बताउँदै उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नै निर्वाचित क्रिकेट सङ्घ ठीक छैन भनेपछि आफूहरुले तदर्थ समिति गठन गरेको दाबी गर्नुभयो ।
क्यानको आधिकारिकता विवाद लम्बिएपछि आइसिसीले केही दिनअघि क्यानलाई निलम्बन गरेको थियो । रासस
No comments:
Post a Comment