काठमाडौँ, १५ जेठ । बजेट कार्यान्वयनमा ढिलाइ, उद्योग, निर्माण एवम् व्यापारलगायतका निजी क्षेत्रमा देखिएको आर्थिक सिथिलता र प्रतिकूल मौसमका कारण चालु आवमा ०।८ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हासिल हुने भएको छ ।
विभिन्न गैरसरकारी निकायले आर्थिक वृद्धिदर न्यून हुने घोषणा गरिरहेका बेला व्यवस्थापिका–संसद्मा आज पेस भएको आगामी आवको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर यसअघि तोकिएको भन्दा ०।३ प्रतिशत थप ०।८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको हो । यसअघि सरकारले ०।७७ प्रतिशत रहने घोषणा गरेको थियो । उपभोक्ता मुद्रास्फीति १० प्रतिशतको हाराहारीमा रहने अनुमान गरिएको छ ।
भूकम्पका कारण करिब रु सात खर्बको क्षति भएको अनुमान गरिएकामा आपूर्ति प्रणालीको असहजताले थप आर्थिक क्षति भएको सन्दर्भमा पुनःनिर्माणका लागि रु आठ खर्ब १३ अर्ब स्रोतको परिचालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
चालु आवमा विनियोजन गरिएको रु आठ खर्ब १९ अर्बमध्ये रु सात खर्ब एक अर्ब अर्थात् ८५।६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान रहेको छ । सोमध्ये पुँजीगततर्फ रु एक खर्ब ५० अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब आठ अर्बमात्रै खर्च हुने संशोधित अनुमान सरकारको छ ।
स्रोत परिचालनतर्फ कुल रु चार खर्ब ७५ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ९६।८ प्रतिशत अर्थात् रु चार खर्ब ६० अर्बमात्र सङ्कलन हुने अनुमान गरिएको छ । कुल रु दुई खर्ब पाँच अर्ब वैदेशिक सहायता परिचालन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको ६१ प्रतिशत अर्थात् रु एक खर्ब २६ अर्ब मात्र परिचालन हुने संशोधित अनुमान रहेको छ ।
व्यापार घाटा कम
सरकारले आज सदनमा प्रस्तुत गरेको बजेटमा व्यापार घाटा कम भएको जनाएको छ । चालु आवमा वस्तु आयात र निर्यात दुवै घटेका छन् । व्यापार घाटा गत वर्षभन्दा कम भएको देखिए तापनि निर्यातले आयातको एक दशांसमात्र धान्न सक्ने अवस्था रहेको छ । चालु आवको पहिलो नौ महिनासम्म रु एक खर्ब ६३ अर्ब ८१ करोड बराबरको शोधानान्तर बचत रहेको, विदेशी विनिमय सञ्चिती रु १० खर्ब सात अर्ब ६१ करोड रहेको छ । विप्रेषण आप्रवाह गत आवको यही अवधिको तुलनामा १३ प्रतिशतले वृद्धि भई रु चार खर्ब ८१ अर्ब ६९ करोड पुगेको छ ।
लगानीको वातावरण सुधार देखिएको भन्दै बजेटले आन्तरिक पुँजी बजार क्रमशः सुदृढ हुँदै गएको, वित्तीय बजारमा रहेको अधिक तरलताले धितोपत्र बजारलाई गतिशील तुल्याएको छ भने उत्पादनशील क्षेत्रतर्फ वित्तीय साधन परिचालन गर्ने चुनौती कायमै छ । नेप्से परिसूचक एक हजार ५०० अङ्कभन्दा माथि रहेको छ । रासस
No comments:
Post a Comment