काठमाडौँ, ११ जेठ । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा देखिएको समस्या समाधानका लागि एक हप्ता परियोजना बन्द गरिएको छ ।
स्याङ्जाको मिर्मीमा रहेको आयोजना मर्मतका लागि आज बिहानदेखि बन्द गरिएको आयोजना प्रमुख श्रीरामराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।
प्रमुख पाण्डेका अनुसार सुरुङबाट पेनस्टक हुँदै टर्वाइनसम्म पानी पठाउने पाइपको मुख्यद्वारमा समस्या देखिएपछि मर्मतका लागि उत्पादन बन्द गरी मर्मत सुरु गरिएको हो ।
उहाँले कम्तीमा पनि मर्मतका लागि एक साता समय लाग्ने बताउनुभयो । ‘‘हामीले सात दिनभित्रै मर्मत सम्पन्न गर्ने गरी आयोजना बन्द गरेका छौँ, एकाध दिन तलमाथि पनि हुन सक्छ’,’ प्रमुख पाण्डेले भन्नुभयो, ‘‘आयोजना बन्द हँुदा पर्नजाने समस्याप्रति हामी सचेत छौँ, चाँडोभन्दा चाँडो मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’’
कुल १४४ मेगावाट क्षमताको सो आयोजनाको आज बिहानसम्म ९० मेगावाट विद्युत् उत्पादन गर्दै आएको थियो । एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले समस्या पैदा भएको उहाँले बताउनुभयो ।
विगत १४ वर्षदेखि चल्दै आएको सो परियोजनाको उक्त द्वार पहिलो पटक मर्मत हुन लागेको हो । आयोजनामा तीनवटा युनिटबाट ४८ मेगावाटका दरले विद्युत् उत्पादन हुँदै आएको थियो ।
नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना बन्द हुँदा पर्ने समस्याप्रति आफूहरु सचेत रहँदै सकेसम्म विद्युत्भार कटौती कम गर्नेतर्फ ध्यान दिने बताउनुभयो ।
रासससँग कुरा गर्दै प्रमुख खत्रीले केन्द्रीय प्रसारण लाइनमा ९० मेगावाट कम हुँदा केही न केही समस्या उत्पन्न हुने जानकारी दिनुभयो । ‘‘हामी सकेसम्म विद्युत्भार कटौतीको समय बढाउने पक्षमा छैनाँै, अनौपचारिक रुपमा केही समय तलमाथि हुन सक्छ’’, खत्रीले भन्नुभयो ।
सामान्यतया ९० मेगावाट विद्युत् कम हुँदा डेढ घन्टासम्म विद्युत्भार कटौतीको समय बढ्न सक्छ । तर प्राधिकरणले भने सो विषयमा अनभिज्ञता प्रकट गर्दै कुनै पनि सार्वजनिक सूचना जारी गरेको छैन । प्राधिकरणले हाल दैनिक औसतमा दश घन्टा विद्युत्भार कटौती गर्दै आएको छ भने नदीमा जलप्रवाह बढेका कारण केही दिनभित्र विद्युत्भार कटौती केही समय कम गर्ने जनाएको छ । रासस
–––––
No comments:
Post a Comment