नवलपरासी, १२ जेठ । पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको गैँडाकोट–११ मा आज बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
घाइतेमध्ये सल्यान सारदा नगरपालिका–२ की दुई वर्षीया ममी गिरीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको यस अगावै मृत्यु भइसकेको थियो । जसमध्ये दुई महिलाको सनाखत भएको छ भने दुई पुरुषको सनाखत हुन बाँकी छ । सल्यान हुचा–९की ४५ वर्षीया शीतली कुवँरले र सोही स्थानकी ३५ वर्षीया दिल्ली कुवँरको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सल्यानबाट काठमाडौँ जाँदै गरेको बा२क ११३७ नं को मिनि ट्रक गैँडाकोट–११ हर्कपुरमा आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी अन्य १५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment