धनगढी, १६ जेठ । साना सिँचाइ कार्यक्रमअन्तर्गत जिल्लामा छनोट भएका आठवटा किसान समूहलाई कृषि सिँचाइ सम्बन्धी उपकरण वितरण गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयमा शनिबार आयोजित कार्यक्रममा एक थान पानी तान्ने मोटर र २२ थान डिजेल इञ्जिन किसान समूहलाई हस्तान्तरण गरियो । प्रत्येक किसान समूहलाई रु ९० हजार मूल्य बराबरका कृषि यन्त्र अनुदानमा उपलब्ध गराउन लागिएको बताइएको छ । साना सिँचाइ कार्यक्रमतर्फ यसवर्ष ३० वटा किसान समूह छनोटमा परेका छन् । बाँकी समूहलाई पनि कृषियन्त्र वितरण गर्ने लक्ष्य रहेको प्राविधिक सहायक मानसिंह ठगुन्नाले बताउनुभयो ।
कृषियन्त्र पाउने आठवटा समूहमा धनगढी उपमहानगरको नवदुर्गा ताजा तरकारी किसान समूह र कल्पना पुरुष किसान समूह रहेका छन् । यस्तै हसुलियाको दौनागी किसान समूह, गदरियाको सङ्घर्ष किसान समूह, अत्तरिया नगरपालिकाको सयपत्री महिला किसान समूह, बसौटीको वसन्त किसान समूह, प्रभात बाढीपीडित किसान समूह र जनजागरण किसान समूह छन् । पवेरा गाविसको क्षितिज बाढीपीडित किसान समूह, र रतनपुर गविसको वसन्त किसान समूहले समेत कृषियन्त्र पाएका छन् ।
समूहमा दर्ता भएका किसान समूहले माग गरेपछि गरिने अनुगमन र सिफारिसका आधारमा यी किसान समूहलाई सतप्रतिशत अनुदानमा कृषि सम्बन्धी उपकरण वितरण गर्ने गरिएको छ । कैलालीमा चालु आवमा साना सिँचाइ कार्यक्रमतर्फ रु ३३ लाखको बजेट रहेकोमा यो बजेट मध्येबाट पहाडी क्षेत्रका गाविस सहजपुर र खैरालामा एक÷एक सतह सिँचाइका कार्यक्रम पनि निर्माणाधिन रहेका छन् ।
यस्तै सहकारीखेती ‘स्किम’तर्फ छनोट भएको सघुन महिला कृषि सहकारी संस्था धनगढी– १४ लाई करिब रु चार लाख २० हजार मूल्यका डिजल इन्जिन, पावर टेलर र यसको ट्रलि र साना किसान कृषि सहकारी संस्था श्रीपुरलाई आर्टिजन बोरिङ्ग निर्माणका लागि रु चार लाख २० हजार अनुदान उपलब्ध गराइएको छ । रासस
No related posts.
No comments:
Post a Comment