पोखरा, २३ वैशाख । सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवालाको सहकार्य अपरिहार्य भएकामा जोड दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा यहाँ आयोजित समन्वय बैठकमा वक्ताहरूले सडक प्रयोगकर्ता, व्यवसायी, चालक र ट्राफिक प्रहरीको सहकार्यले मात्र दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।
पोखरा उपमहानगरपालिकाका निमित्त प्रमुख ओमराज पौडेलले नागरिक र ट्राफिक प्रहरीको सहकार्यले मात्र ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनुभयो ।
उहाँले सडकलाई असर पर्नेखालका गतिविधि, चौपाया नियन्त्रणलगायतका विषयमा नगरपालिका चनाखो रहेको उल्लेख गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत डिल्लीप्रसाद ढुङ्गानाले सम्बद्ध सबै पक्ष र निकायको सहकार्य भएमा दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो ।
सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर इन्द्रप्रसाद पौडेलले सवारी साधनको सङ्ख्या वृद्धि भएसँगै सडकको चौडाइ बढ्न नसक्दा दुर्घटना न्यूनीकरणमा समस्या आएको उल्लेख गर्नु भयो ।
सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक फणीन्द्र पौडेलले आफूहरु ट्राफिक प्रहरीको सहयोगीका रुपमा कार्य गरिरहेको उल्लेख गर्दै दुर्घटना न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।
बैठकमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक ज्ञान पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी धौवलागिरि यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले अध्ययनसँगै विद्यार्थीलाई व्यावहारिक ज्ञानको खाँचो रहेको औँल्याउनुभयो ।
उक्त अवसरमा रेडक्रस कास्कीका उपसभापति डोलराज पाण्डे, गैरसरकारी सङ्घ कास्कीका पदमराज पहारी, गोपाल खड्का, पत्रकार जमुना शर्मालगायतले सरोकारवाला सबै पक्ष र निकायको सहयोग भएमा दुर्घटना न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभएको थियो । रासस
No comments:
Post a Comment