भुवनेश्वरी (सिन्धुली), २९ वैशाख । भुवनेश्वरी गाविसका ८२ वर्षीय चन्द्रप्रसाद बरालले ८२ वर्षको उमेरमा आज जग्गाधनी पुर्जा पाउनुभयो । स्थानीय ग्वालटारमा आज आयोजना गरिएको जग्गाधनी पुर्जा वितरण कार्यक्रममा उहाँले वृद्ध अवस्थामा १० आना क्षेत्रफल भएको जग्गाको लालपूर्जा पाउनुभएको हो ।
नापी कार्यालय सिन्धुलीले आयोजना गरेको जग्गाधनी पुर्जा वितरण कार्यक्रममा भूमिसुधार व्यवस्था तथा राज्यमन्त्री विक्रम थापाले उहाँसँगै ३२ जनालाई जग्गाधनी पुर्जा उपलब्ध गराउनुभयो । २०२८ सालमा नापी भएको जग्गा गाउँ ब्लकमा राखिएपछि जग्गाको भोगचलन गरेपनि ३२ घरपरिवारले कानुनीरुपले धनीपुर्जा प्राप्त गर्न सकेका थिएनन् ।
वृद्ध अवस्थामा लालपुर्जा हातमा परेपछि गहभरी आँशु पार्दै उहाँले भन्नुभयो, “पहिला जग्गा आफ्नो नाममा पार्न अनेकौँ दुःख गरियो, तर पनि सकिएन, जग्गा भोगचलन गरेको थिएँ, कानुनीरुपमा बेचबिखन त परै जाओस् अहिले भूकम्पपीडित हुँदा पनि राज्यको अनुदान पाउनबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भयो, तर ४५ वर्षपछि आज लालपुर्जा हातमा परेको छ । घरमै आएर पुर्जा वितरण गरिदिने सरकारी कर्मचारीलाई धन्यवाद दिन चाहन्छु ।”
सरकारले एउटा नीति बनाएर हामीलाई लालपुर्जा वितरण ग¥यो, हामीलाई जस्तो अरुलाई समस्या नपरोस् भन्ने उहाँको भनाइ थियो । उमेरले नेटो काट्नै लाग्यो, भूकम्पले अहिले पुर्जा पाएको जग्गामा घर थियो, घरै भत्काइदिएपछि बस्ने बास थिएन, राहत लिन पनि लालपुर्जा चाहिने रे, कहाँबाट लालपुर्जा ल्याउनु, यही चिन्ता थियो ।
भुवनेश्वरीकै मञ्जु कार्कीले पनि आज बुढेसकालमा लालपुर्जा पाउनुभयो । भूकम्पले भत्काएको घर बनाउन सरकारले लालपुर्जा माग्यो, तर आफूसँग लालपुर्जा नहुँदा पहिला समस्या भएको पनि उहाँले गुनासो गर्नुभयो । अब लालपुर्जा पाएपछि सरकारले दिएको लालपुर्जाको आधारमा अब ऋण सम्झौता गरेर घर बनाउने कार्कीको सोच छ ।
जग्गाधनी लालपुर्जा वितरण गर्दै भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री विक्रम थापाले आफूले भूकम्प गएको बेला राज्यबाट पनि सहयोग नपाएको बताउनुभएको छ । उहाँले राज्यले दिन्छ भन्दैमा गलत विवरण देखाएर रकम लिनु नहुने पनि बताउनुभयो ।
२०२८ सालको नापीमा सिन्धुलीका ३१ गाविसमा यस्ता समस्या रहेको र समाधानका लागि नापी कार्यालयले काम जारी राखेको कार्यालयका प्रमुख छत्र लुङ्गेलीले बताउनुभयो । अहिले लालपुर्जा नहुँदा भूकम्पपीडितलाई समस्या सिर्जना भएको भन्दै भुकम्पप्रभावित गाविसबाट लालपुर्जा वितरणको काम सुरु गरिएको उहाँको भनाइ थियो । रासस
–––––––
No comments:
Post a Comment