सान, ११ जेठ । यमनको दक्षिणी सहर एडेनमा भएको दुई आत्मघाती हमलामा परी कम्तीमा पनि ५० जनाको ज्यान गएको समाचार छ ।
मारिनेमा यमनी सेनामा भर्ती हुन गएका युवा परेका छन् । भर्ती हुनका लागि नापजाँचको प्रक्रियामा बसिरहेका युवालाई लक्ष्यगरी हमला भएको थियो ।
सो हमलामा परी ५० जना युवाको मृत्यु भएको यहाँको सुरक्षा अधिकारीले मङ्गलबार बिहान बताएका छन् ।
सेनाको भर्ती केन्द्रमा लाइनमा बसेका मानिसलाई केन्द्रित गरी एकजना आत्मघाती कार हमलाकारीले उक्त केन्द्रको बाहिरी भागबाट विस्फोट गराई आक्रमण गराएको थियो ।
सो आक्रमणमा परी सोमबार नै ४५ जनाको ज्यान गएको थियो । पछि मङ्गलबार बिहानसम्ममा यस हमलाबाट मारिनेको सङ्ख्या ५० पुगेको जनाइएको छ ।
त्यस घटनाको जिम्मेवारी पनि आईएसले नै लिएको छ । यमनमा विश्व समुदायद्वारा मान्यता प्राप्त सरकारले सिया विद्रोहीविरुद्ध सन् २०१४ देखि विद्रोह गर्दै आएको छ ।
त्यसमा परी हजारौँ नागरिकको ज्यान गइसकेको छ । तर त्यस विद्रोहले उल्लेख्य सफलता भने पाउन सकिरहेका छैन ।
यमन अलकायदा तथा इस्लामिक स्टेट समूहसँग आवद्धता राख्ने विभिन्न झुन्डको आश्रयस्थल बन्दै आएको छ ।
गएको महिनादेखि सो देशमा सरकार र यी विद्रोहीबीच जारी रहेको भनिएको वार्ताले पनि यथोचित गति लिन सकिरहेको छैन ।
सो यमनको सरकारले एकपक्षीय रूपमा स्थगित गरेको जानकारी गराइएको समाचारमा जनाइएको छ । तर यस विषयमा ठोस निर्णय भने भएको छैन ।
यसअघि पनि सरकारले वार्ताको औचित्य नभएको भनी वार्तामा बस्न नमानेपछि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिको विशेष पहलमा वार्ता भएको थियो ।
यमनमा साउदी नेतृत्वको गठबन्धन सेनाले सन् २०१४ को सेप्टेम्बरदेखि विद्रोहीको कब्जामा रहेको यमनी राजधानी सानालाई फिर्ता लिएको थियो । त्यसयतादेखि त्यहाँ सेना र विद्रोहीबीच द्वन्द्व चर्किँदै आएको छ ।
गतवर्षको मार्च महिनादेखि यमनमा हिंसा भड्किएको थियो । सो हिंसामा परी कम्तीमा पनि छ हजार ४०० नागरिकको ज्यान गएको छ ।
संयुक्त राष्ट्रसङ्घले यस हिंसाका कारण यमनका करिब तीस लाख नागरिक विस्थापित हुन पुगेको जनाएको छ । यस विषयमा सरकारको यकिन तथ्याङ्क भने उपलब्ध हुन सकिरहेको छैन । रासस÷एपी
No comments:
Post a Comment