काठमाडौँ, २७ वैशाख । एकीकृत नेकपा(माओवादी)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)ले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका लागि विशेष टोली परिचालन गर्ने भएको छ ।
वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणमा सहयोग पु¥याउन प्राविधिक सदस्यसहितको टोली परिचालन गर्ने निर्णय गरेको हो । टोलीमा रहने सङ्ख्या भने सम्बन्धित जिल्लाको समन्वयमा नै गरिनेछ ।
पुनःनिर्माणमा जनपरिचालन गर्ने लक्ष्यअनुसार विशेष योजनाका साथ १४ वटै जिल्लामा वाइसिएलका सदस्य परिचालित हुने निर्णय भएको वाइसिएलका महासचिव रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै आगामी बर्खायाममा हुनसक्ने प्राकृतिक विपत्ति, बाढीपहिरो तथा अन्य जुनसुकै विपत्तिलाई सामना गर्नका लागि पनि तम्मतयारी हालतमा रहने र विशेष संयन्त्र नै निर्माण गरिने उहाँको भनाइ छ । ७५ वटै जिल्लामा त्यसखालको संयन्त्र निर्माण गरिनेछ ।
सरकारले पुनःनिर्माणका लागि जनपरिचालन गर्ने लक्ष्यसमेत अगाडि सारिएका बेला वाइसिएलले सरकारलाई सहयोग नै पुग्ने गरी आफ्नो कार्यक्रम केन्द्रित गरेको महासचिव सापकोटाको भनाइ छ ।
यस्तै वाइसिएलको सङ्गठन सुदृढीकरण गर्ने तथा रचनात्मक काममा परिचालन गर्नेसमेत निर्णय भएको छ । यस्तै वाइसिएलकै पहलमा भएको स्वतस्फूर्त परिचालनका कारण एनसेलले पुँजीगत लाभकर तिर्न तयार भएको स्पष्ट पार्दै महासचिव सापकोटाले बाँकी रहेको कर समयमै तिर्नसमेत सचेत गराएको छ ।
वाइसिएलको केन्द्रीय समितिको पूर्ण बैठकको उद्घाटन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आइतबार गर्नुभएको थियो । रासस
No comments:
Post a Comment