काठमाडौँ, २२ वैशाख । पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सक्रियताका कारण मुलुकको मौसममा खराबी आएको छ ।
उक्त वायुको प्रभावले देशभर मौसम बदली हुनका साथै देशका अधिकांश भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मङ्गलबार अपराह्नदेखि सुरु भएको मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गरेको र आज रातभर यसको प्रभाव जारी रहने मौसमविद् मीनकुमार अर्यालले बताउनु भयो ।
“पश्चिमको सुदूर तराई भेकबाहेक अहिले देशभर बदलीसँगै अधिकांश स्थानमा पानी परेको छ । यो प्रणाली रहिरहेपनि ठूलो पानी पर्ने देखिन्न,”–उहाँले भन्नुभयो । मौसमविद् अर्यालले मनसुन सुरु हुनुअघि (प्रिमनसुन) को झल्को देखाउने गरी मौसमी प्रणालीको विकास भएको बताउनुभयो ।
आज सबैभन्दा बढी धनगढीमा ४७.८ मिलिमिटर वर्षा भएको छ, भने सबैभन्दा कम कास्कीको लुम्लेमा ०.५ मिलिमिटर वर्षा भएको छ । त्यसैगरी विराटनगरमा १३.२, भैरहवामा ११.८, जिरीमा ९, दाङमा १५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
बिहान घाम लागे पनि मध्याह्नपछि मौसमी प्रणाली सक्रिय हुने अवस्था केहिदिन जारी रहने बताइएको छ । पश्चिमका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
पछिल्लो समय राजधानी काठमाडौँसहित देशभर गर्मी बढिरहेका बेला पानी परेकाले खासगरी तराई क्षेत्रमा केही रहत महसुस गरिएको छ । प्रमुख खाद्यान्य बाली मकै छर्ने बेला किसानले राहत महसुस गरेका छन् । मुलुकभरका जङ्गलमा आगलागीका घटना बढेका बेला ढिलोगरी भएको वर्षाले डढेलो नियन्त्रण तथा जैविक विविधता र पशुपक्षीलाई पनि राहत दिलाएको छ । पहाडी क्षेत्रमा भने हावाहुरीसँगै आएको वर्षाले खासै प्रभाव पारेको छैन । उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत भएको छ ।
अपराह्न काठमाडौँमा पनि मेघ गर्जनसहित हल्का वर्षा र हावाहुरी चलेको छ । काठमाडौँमा ४.२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.२ र अधिकतम तापक्रम २९ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment