काठमाडौँ, ५ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद गोपाल दहितले संविधान संशोधन सत्तापक्षीय दलहरुको नाटक मात्र भएको आरोप लगानु भएको छ ।
आन्दोलनरत दलको समस्या समाधान गर्न सरकार उदासीन रहेको र मधेसी गठबन्धनलाई फुटाउन उद्दत रहेको उहाँको आरोप थियो ।
सभामुख ओनसारी घर्ती मगरले आज ११ः२० बजे प्रारम्भ गर्नुभएको संसद्को बैठकमा तीर्थराज भाट र नवराज शर्माले शून्य समयको सदुपयोग गर्दै भूकम्प र पहिरोपीडितसामु जतिसक्दो चाँडो राहत पु¥याउन सरकारसँग माग गर्नुभएको थियो ।
त्यसैगरी, संसद्को विशेष समयमा सांसद कमला पन्तले जनताप्रति सरकारलाई उत्तरदायी बनाउन सभामुखबाट निर्देश हुनुपर्ने माग गर्नुभयो ।
सांसद भूपेन्द्र क्षेत्रीले जेठ २५ गते ताप्लेजुङ नगरपालिकामा गएको पहिरोमा चार वर्षीया छोरी अङ्शु तामाङ र ६ वर्षीय छोरा अमृत तामाङ गुमाउने मनकुमारीको परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नुभएको थियो ।
सांसद ओङ्दी शेर्पा, दुर्गा पौडेल, रामेश्वर ढुङ्गेल र रामचन्द्र पोखरेलले भूकम्प, पहिरो र बाढीबाट पीडितहरुलाई तत्काल पुनाःस्थापनाको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।
सांसद प्रेम सुवालले एसिया तेस्रो विश्वयुद्धको उद्गम थलो बन्न सक्नेतर्फ ध्यानाकर्षण गर्नुभयो भने अर्का सांसद राममणि विडारीले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने काममा सरकारले ढिलासुस्ती गरिरहेको आरोप लगाउनुभयो ।
त्यसैगरी, सांसद् बलराम अधिकारीले कपिलवस्तु घटनाका बलात्कारीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । अर्का सांसद सुरेन्द्र प्रकाश जयसवालले रौतहटका ऊखु किसानका समस्यामा सरकारको ध्यानाकर्षण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment