काठमाडौँ, ४ असार । इसिडिसी तेक्वान्दो डोजाङले सञ्चालन गरेको एकदिने तेक्वान्दो ग्रेडिङ आज सम्पन्न भएको छ ।
चपलीस्थित प्रारम्भिक बाल विकास केन्द्रमा आज भएको ग्रेडिङमा ३० तेक्वान्दो खेलाडी सहभागी थिए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, राजीव बस्नेत र कल्याण कुँवरले ग्रेडिङ प्रदान गरे । नेपाल तेक्वान्दो सङ्घको वार्षिक कार्यक्रमअनुसार ग्रेडिङ लिएको इसिडिसी तेक्वान्दो डोजाङका प्रशिक्षक कुँवरले बताउनुभयो ।
ग्रेडिङमा रातो–कालो पेटीका पाँच खेलाडी, निलो–रातो पेटीका र निलो–हरियो पेटीका समान सात, हरियो–पहेँलोका आठ तथा पहेँलो पेटीमा तीन खेलाडीलाई बढोन्नति गरिएको थियो । ग्रेडिङमा रातो–कालोतर्फकी सृष्टि सुन्दास उत्कृष्ट खेलाडी चुनिइन् ।
उक्त तेक्वान्दो डोजाङ सन् २०१२ का सिएनएन हिरो पुष्पा बस्नेतको संस्थाद्वारा सञ्चालित हो । जोे प्रारम्भिक बाल विकास केन्द्र बटरफ्लाई होम नामक संस्थाअन्तर्गत रहेको छ ।
कार्यक्रममा सिएनएन हिरो बस्नेत, डोजाङ प्रमुख कुँवरलगायतले चीनमा हुने ८७औँ अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागी हुन जाने तेक्वान्दो निर्णायक कविराज नेगीलाई बिदाइ गर्नुभयो । उक्त सेमिनार यही जुन २४ देखि २७ तारिखसम्म सञ्चालन हँुदैछ ।
दौडमा किरिश र त्रिपना पहिलो
ओलम्पिक दिवसको अवसरमा आयोजित दौड प्रतियोगिताको छात्रमा एम्स स्कुलका किरिश श्रेष्ठ तथा छात्रामा स्प्रिङ्डेलकी त्रिपना तामाङ पहिलो भएका छन् ।
स्पोर्टस् फर अल कमिसन तथा नेपाल एथलेटिक्स सङ्घद्वारा संयुक्त आयोजित प्रतियोगिताको छात्रमा अनमोल ज्योतिका सवीन मगर दोस्रो तथा एम्सका चूडा मगर तेस्रो भए ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको प्रतियोगिताको छात्रामा सिङ्गेरीकी उपहार राई दोस्रो तथा अरुणिमाकी समीका रञ्जीतकार तेस्रो भए ।
प्रतियोगितामा १०२ छात्रले एक हजार छ सय मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७२ गल्सले आठ सय मिटर दूरीमा भाग लिएका थिए ।
विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment