Wednesday, June 22, 2016

एनआरएनए र कर्मचारी सञ्चयकोष बीच एमओयू हुने

20160622_122947

हजारे अभियानलाई अगाडि बढाएको गैर आवासीय नेपाली संघ (एनआरएनए) र कर्मचारी सञ्चय कोषका बीच समझदारी पत्र एमओयूमा हस्ताक्षर हुने भएको छ ।

बुधबार संघका अध्यक्ष शेष घलेको नेतृत्वमा गएको प्रनिनिधि मण्डल र कोषका प्रमुख प्रशासक कृष्ण प्रसाद आचार्यको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलका बीच ललितपुरमा भएको बृहत छलफल पश्चात् वेदेशिक रोजगारीमा रहेका सम्पूर्ण कामदार एवं कर्मचारीहरुलाई कर्मचारी सञ्चयकोष मार्फत सामाजिक सुरक्षण सुविधा प्रदान गर्ने विषयमा अगाडि बढ्न सहमत भई दुबै पक्ष उक्त निचोडमा पुगेका हुन् ।

20160622_115224

छलफलका क्रममा संघका अध्यक्ष घलेले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको आम्दानीको केही हिस्सा कर्मचारी सञ्चय कोष मार्फत जम्मा गर्ने अभियानका बारेमा बिस्तृत जानकारी दिंदै कोषले हालसम्म गर्दै आएको कर्मचारी सञ्चय कोष सम्बन्धी कार्यविधि, सञ्चयका प्रावधान, लगानीका क्षेत्रहरु, त्यसबाट प्राप्त हुने प्रतिफल, सञ्चयकर्ताले पाउने सेवा तथा सुविधाहरु आदिका विषयमा जानकारी लिए भने कर्मचारी सञ्चय कोषका प्रमुख प्रशासक आचार्यले घलेको जिज्ञासामाथि प्रष्ट पार्दै कोषले वर्तमानमा गर्दै आएको काम, कार्यक्षेत्र, सञ्चयकर्तालाई प्रदान गर्ने गरेको सेवा सुविधा, सामाजिक सुरक्षा सम्बन्धी प्रावधानहरु ल्गायतका बारेमा बिस्तृत रुपमा प्रकाश पारेका थिए ।  सो क्रममा उनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई समेट्न गरिएको पहल अन्तर्गत उनीहरुको परिवारका सदस्यलाई समेत लाभान्वित हुने बाटाहरु पहिल्याउन सघाउने, ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीबाट फर्किएपछि पनि स्वरोजगार हुने अवसरको सिर्जना गर्ने, नयाँ नयाँ लगानीका अवसरहरुको सिर्जना गर्ने, स्वास्थ्य बिमा, पेन्सन, सामाजिक सुरक्षाको प्रत्याभूति, दुर्घटना क्षतिपूर्ति आदि विषयमा कोष अगाडि बढेको र वैदेशिक रोजगारीमा रहेकाहरुको लागि छुट्टै कोष तथा त्यसको व्यवस्थापन एवं सञ्चालन कार्यविधि पनि अलग्गै बनाएर अगाडि बढ्ने दिशामा आफूहरु लागी परेको बताए । साथै आचार्यले अहिले ऐन संशोधनको प्रक्रियामा रहेकाले आफूहरु एनआरएनएसँग सहकार्य गर्र अगाडि बढ्दा अध्ययन अनुसन्धान तथा ऐन संशोधनमा समेत एनआरएनएको सम्बन्धित क्षेत्रको दक्षता एवं अनुभवले गर्दा सहज हुने भन्दै सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।

20160622_115204

उक्त छलफलमा एनआरएनएका यूवा उपसंयोजक लोकराज शर्मा, हजारे अभियानका सदस्य दामोदर नेपाल तथा कोषका तर्फबाट अध्ययन दलका सदस्य जितेन्द्र धिताल लगायतले आ आफ्ना धारणा राखेका थिए । अन्त्यमा छलफल अत्यन्त लाभदायक भएको भन्दै अब छिट्टै दुबै पक्षका बीच एक समझदारी पत्र एमओयूमा हस्ताक्षर गरेर अगाडि बढ्ने भन्दै बैठक सकिएको थियो ।

एनआरएनए र कर्मचारी सञ्चयकोष बीच छलफल भएको यो तेश्रो पटक हो । यसअघि पनि संघका महासचिव डा. बद्री के.शी.को नेतृत्वमा गएको प्रतिनिधि मण्डलले कोषका पदाधिकारीसँग दुई चरणको छलफल सम्पन्न गरिसकेको छ । यो अग्रसरतासँगै वैदेशिक रोजागारीमा रहेका नेपालीहरुले पनि सञ्चय कोषको सुविधा उपयोग गर्दै सामाजिक सुरक्षा तथा अन्य विभिन्न सुविधा लिन सक्ने बाटो खुल्ने निश्चित प्रायः छ ।

20160622_115224

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts