चलचित्र ‘रिलेसन’ले ब्राजिलको रियो दि जेनेरियोमा हुने ३१औँ ग्रीष्मकालीन ओलम्पिकका लागि वाइल्डकार्डमार्फत छनोट भएकी निशा रावलका लागि पुरस्कारको घोषणा गरेको छ ।
चिलचित्रका नायक तथा निर्माता ग्रान्डमास्टर दिवाकर डान महर्जनले निशाले ओलम्पिकमा एक बाउट जितेको खण्डमा रु एक लाख प्रोत्साहनस्वरुप ‘रिलेसन’ चलचत्रिका तर्फबाट प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रत्येक बाउट जित्दा रु एक लाख थपिँदै जाने छ । “तेक्वान्दोमार्फत समाजमा परिवर्तन गराएको सन्देश दिएको समयमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलोस भनेर पुरस्कार दिने घोषणा गरेका हौँ,” महर्जनले भन्नुभयो ।
तेक्वान्दोसम्वन्धी चलचित्र रिलेसन अमेरिकाको पोर्टल्यान्डको हलिउड थिएटरमा भव्यताका साथ देखाइसकिएको छ भने असार १० बाट नेपालमा उक्त चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको छ । “खेलकुदकर्मी भएका नाताले खेलाडीको प्रोत्साहन गर्नु हाम्रो कर्तव्य हो,” उहाँले भन्नुभयो ।
महर्जनले नै स्थापना गरेको ‘मैत्री तेक्वान्दो डोजाङ’की उत्पादन निशा हुन् । यसअघि मैत्री तेक्वान्दो डोजाङले निशालाई ओलम्पिकसम्म यात्रा गरेको भन्दै सम्मान गरेको थियो । निशाले २०१६ को अगष्ट ५ देखि २१ तारिखसम्म आयोजना हुने रियो ओलम्पिकमा ६७ किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उहाँ यतिबेला ओलम्पिकको विशेष तयारीका लागि दक्षिण कोरियामा रहेको बताइएको छ । रासस
No comments:
Post a Comment