काठमाडौँ, ८ असार । अमेरिकाको क्यालिफोर्नियास्थित पालो अल्टोमा आजदेखि सुरु भएको ‘विश्व उद्यमशीलता शिखर सम्मेलन–२०१६’ मा नेपालबाट आठ जना प्रतिनिधि सहभागी भएका छन् ।
असार ८ देखि १० सम्म चल्ने सो सम्मेलनमा आठ नेपाली व्यवसायीले सहभागिता जनाएको यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । शिखर सम्मेलनमा लगानीकर्ता, कार्यकारी अधिकृत र व्यावसायिक अगुवालगायत विश्वका ७०० भन्दा बढी उद्यमीले सहभागिता जनाइरहेका छन् ।
सम्मेलनमा नेपालबाट एलिशा तुलाधर, भुवन आचार्य, डा विशाल ढकाल, विश्व ढकाल, ईशु सुवेदी, राजेशलाल जोशी, सुमना श्रेष्ठ र टीकाराम पौडेल रहनुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाका साथै वाणिज्य मन्त्री पेनी प्रिट्रजकर, साना व्यवसाय प्रशासनका प्रशासक मरिया कन्ट्रेरास, युएसएआइडीका प्रशासक गेयल स्मिथको पनि सम्मेलनमा सहभागिता रहेको छ । त्यसैगरी विश्वव्यापी महिलाका सवालहरुसम्बन्धी महादूत क्याथरिन रसेल, सार्वजनिक कूटनीतिक तथा सार्वजनिक मामिलासम्बन्धी उपविदेशमन्त्री रिचर्ड स्टेङ्गललगायत अमेरिकी सरकारका उच्चअधिकारीसमेत सहभागी छन् ।
यो शिखर सम्मेलन जिइएसको सातौँ संस्करण हो । यसअघिका संस्करण टर्की, संयुक्त अरब इमिरेट्स, मलेसिया, मोरक्को तथा केन्याले आयोजना गरेका थिए । अमेरिकामा उक्त सम्मेलन फेरि आयोजना गर्ने प्रयासका क्रममा राष्ट्रपति ओबामाले विश्वव्यापी चुनौतीलाई मिलेर सामना गर्ने सेतुको निर्माण गर्ने प्रतिबद्धतामा जोड दिनुभएको छ । रासस
No comments:
Post a Comment