काठमाडौँ, १९ जेठ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले करिब रु १० अर्ब बराबरका विद्यालय भवन पुनःनिर्माणको कार्यक्रम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ ।
गत वर्षको विनाशकारी भूकम्पका कारण ३१ जिल्लाका करिब आठ हजार विद्यालय र २२ हजार कक्षा कोठा क्षतिग्रस्त भएका छन् । सरकारले तीन वर्षभित्र विद्यालय पुनःनिर्माण गरिसक्ने घोषणा गरेको छ ।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले अर्थ मन्त्रालयबाट स्विकृति आएपछि विद्यालय पुनः निर्माणको कामले गति लिने बताउनुभयो ।
हालसम्म जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा ललितपुरमा पाँच विद्यालय भवन निर्माण सुरु भइसकेको छ । गोरखामा २८ विद्यालय निर्माणका लागि बोलपत्रको प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
एसियाली विकास बैङ्क (एडीबी) को सहयोगमा काभ्रेपलाञ्चोकमा ११ वटा विद्यालय भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाइएको छ भने गैरसरकारी संस्थाद्वारा पेस गरिएको २३४ विद्यालय भवन निर्माणका लागि रु एक अर्ब ७२ करोड ६७ लाखको प्रस्ताव स्विकृत भइसकेको छ । रासस
No comments:
Post a Comment