काठमाडौँ, २० जेठ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्नि खरेलसँग ‘सार्क ल’का अध्यक्ष मेहमुद मान्भीवल्ला, महासचिव मुहम्मद मोहसेन रसिद, कार्यकारी निर्देशक विपिन भाट र बङ्गलादेशका वरिष्ठ अधिवक्ता एम के रहमानले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटका अवसरमा उहाँहरुले सार्क लका पछिल्ला गतिविधिका बारेमा मन्त्री खरेललाई जानकारी गराउनुका साथै काठमाडौँमा सार्क ल सचिवालय स्थापना गर्नेतर्फ नेपाल सरकारको तर्फबाट भएको सहजीकरणका लागि धन्यवाद व्यक्त गर्नुभएको प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिनुभयो ।
मन्त्री खरेलले गत फागुनमा काठमाडौँमा सम्पन्न चौधौं सार्क ल सम्मेलनले कानुन र न्याय क्षेत्रमा कार्यरत जनशक्तिलाई अन्तर्राष्ट्रिय कानुन, संविधानवाद्, दिगो विकास र वातावरणलगायत विषयका ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सार्क लका क्रियाकलाप लाभप्रद हुने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment