काठमाडौँ, ८ असार । स्वदेशी तथा विदेशी अर्थविद्ले दक्षिण एसियाली क्षेत्र तथा उपक्षेत्रबीचको सहयोगको विकल्प नभएको बताएका छन् ।
भारतीय दूतावास तथा हिमालय फोरमको संयुक्त तत्वावधानमा आज आयोजित नेपाल–भारत–बङ्गलादेश त्रिपक्षीय आर्थिक साझेदारी विषयक अन्तरक्रियामा उहाँहरुले यी तीन मुलुकबीचको समझदारीबाट नै यस क्षेत्रको विकास गर्न सकिने बताउनुभयो ।
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारतसँग नेपाल सरकारले महत्वपूर्ण सम्झौता गरेको चर्चा गर्दै कृषि, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा त्रिपक्षीय समझदारी आवश्यक भएको बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीच सौहाद्र सम्बन्ध रहेको भन्दै बङ्गलादेशले नेपाली वस्तुमा ‘डियुटी फ्री एक्सेस’ उपलब्ध गराएको बताउनुभयो ।
नेपालका लागि बङ्गलादेशका राजदूत मासिफी विन्टे साम्सले बङ्गलादेश सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक भएको र टेक्सटाइलको उत्पादनमा दोस्रो ठूलो मुलुक हो भन्नुभयो ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले दक्षिण एसियाली तीन मुलकबीच साझेदारी भएमा आर्थिक विकासका लागि खर्च कटौत ीगर्न सकिने बताउँदै क्षेत्रीय तथा उपक्षेत्रीय समझदारीका विकल्प छैन भन्नुभयो ।
नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले यस क्षेत्रका तीनदेशबीच हरेक क्षेत्रमा अन्तरसम्बन्ध रहेको चर्चा गर्दै रेल, पर्यटन, जलस्रोत तथा ऊर्जाको त्रिपक्षीय सम्झौता हुनसकेमा यस क्षेत्रको विकास हुने धारणा राख्नु भयो ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, अर्थविद् हरिभक्त शर्मा तथा सुनिल केसीलगायतका वक्ताले क्षेत्रीय अर्थ व्यवस्थाका विविध पक्षमा प्रकाश पार्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment