Monday, June 20, 2016

प्रधानसेनापति क्षत्री लेबनान प्रस्थान

काठमाडौँ, ६ असार । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको काम र यूनिटको निरीक्षण भ्रमणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीकोे नेतृत्वमा सात सदस्यीय नेपाली टोली आज साँझ त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रधानसेनापतिको भ्रमण टोलीमा रक्षा सचिव महेशप्रसाद दाहाल, प्राड विभाग प्रमूख उपरथी होमकुमार लावती लगायत हुनुहुन्छ । भ्रमणक्रममा प्रधानसेनापति क्षत्रीले शान्ति स्थापना कार्यका लागि युनिफिल मिसन लेबनानमा तैनाथ गण तथा पोस्टको निरीक्षण गर्नुका साथै त्यहाँ खटिएको युनिफिल फोर्स कमाण्डरलगायत संयुक्त राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

हाल लेबनानमा श्री गोरखदल गण (शा से) ५७ औँ डफ्फाका ८४९ जना तैनाथ रहेका छन् । सर्वप्रथम सन् १९५८ मा नेपाली सेनाबाट लेबनानमा पाँचजना सैनिक पर्यवेक्षकको रुपमा शान्ति स्थापना कार्यमा योगदान भएको थियो ।

सन् १९५८ देखि हालसम्म नेपाली सेनाबाट एक लाखभन्दा बढीले संयुक्त राष्ट्रसङ्घअन्तर्गत शान्ति स्थापना कार्यमा विभिन्न क्षेत्र र ओहोदामा रही कार्य गरिसकेका छन् । प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी वलदेवराज महतले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सेनापति महारथी श्री क्षत्री यही असार १२ गते स्वदेश फिर्ता हुनुहुनेछ । प्रधानसेनापतिको भ्रमणले त्यहाँ खटिएका सैनिकको मनोबल उच्च बनाउन योगदान पुग्ने विश्वास गरिएको छ । साथै संयुक्त राष्ट्रसङ्घ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहँदै आएको सौहाद्र्रपूर्ण सम्बन्धलाई अझ सुमधुर एवम् विस्तार हुने नेपाली सेनाले विश्वास लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts