Sunday, July 10, 2016

अन्न र आम्दानी बढाउन गड्यौलापालन

लहान, २६ असार । गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् ।

यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्यसमा सुधार ल्याउन किसानले गड्यौलापालनबाट भर्मिक मल उत्पादन गर्न सुरु गरेका हुन् ।

जिल्ला कृषि विकास कार्यालय सिरहाको सहयोगमा किसानले अन्न तथा तरकारी बालीको उत्पादनमा वृद्धि ल्याउन रासायनिक मल र अन्य विषादीको साटो खेतमा गड्यौलापालन गर्न थालेका छन् ।

जथाभावी रुपमा प्रयोग गरिने रासायनिक तथा अन्य विषादीका कारण माटोको उर्वरा शक्ति समाप्त हुनुका साथै बाली उत्पादनमा समेत ह्रास आउन थालेकाले माटोको उर्वरा शक्तिमा सुधार ल्याउन खेतमा गड्यौला जुका पाल्न सुरु गरेको सिरहाको फुलकाहाकट्टीका किसान पाण्डवकुमार मण्डलले बताउनुहुन्छ ।

खेतमा पालिने गड्यौला किराले उत्पादन गर्ने भर्मिक किरा मलका कारण माटोको उर्वरा शक्ति बढ्नुका साथै उत्पादन वृद्धिका लागि अन्य कुनै रासायनिक मल र विषादीको प्रयोग गर्नु नपर्ने भएकाले पनि गड्यौलापालनतर्फ किसान आकर्षित भएको मण्डलको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिला पहिला गड्यौलाको महत्व थाहै थिएन, पछि कृषि विकास कार्यालयले गड्यौलाको महत्व र पालनबारे तालिम दिएपछि यहाँका किसानहरुले गड्यौलापाल्न थालेको हो ।” गड्यौला किराले बनाउने भर्मिक मलमा बिरुवालाई आवश्यक मात्रामा चाहिने युरिया, डिएपी र पोटासका साथै अन्य तत्वसमेत पाउने भएकाले गड्यौलापालन थालेको मण्डलको भनाइ छ ।

“गड्यौलाको महत्व थाहा पाएपछि करिब तीन कट्ठा जग्गामा गड्यौलापालन सुरु गरेको छु,” मण्डल भन्नुहुन्छ – “यसैबाट थप गड्यौला उत्पादन गरेर आफ्ना अरू खेतमा पनि विस्तार गर्ने, बाँकी रहेको अरू किसानलाई समेत बिक्री–वितरण गर्ने योजना बनाएको छु ।” कम लगानीमा राम्रो प्रतिफल देखिएकाले पनि गड्यौलापालनमा किसानको रुचि बढेको उहाँको कथन छ ।

जिल्ला कृषि विकास कार्यालयले दिएको तालिमबाट सिकेर गड्यौलापालन थालेको बताउँदै अर्का कृषक विष्णुपुरकट्टीका रामभरोस महतोले भन्नुभयो – “यो प्रविधिले छोटो समयमै उल्लेखनीय अन्न उत्पादन गर्न भ्याएको छु ।”

यसरी कृषि उत्पादन क्षेत्रमा देखिएको परिवर्तन कृषि विकास कार्यालयको सहयोगले मात्र सम्भव भएकाले यो प्रविधिबारे अरू किसानलाई पनि ज्ञान र सीप पु¥याउनुपर्ने महतोको सुझाव छ । पछिल्लो समयमा उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मलको प्रयोग बढेका कारण उत्पादन घट्नुका साथै मानव स्वास्थ्यमा समेत जोखिम बढ्दै गएकाले रासायनिक मलको प्रयोग कम गर्न गड्यौलापालन गर्ने अभियान सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामलखन मण्डल बताउनुहुन्छ ।

उहाँका अनुसार सिरहाको फुलकाहाकट्टीका १०, विष्णुपुरकट्टीका १० र अयोध्यानगरका पाँच जना गरी प्रारम्भिक चरणमा २५ जना किसानलाई लक्ष्य गरेर पहिलो पटक जिल्लामा गड्यौलापालन सुरु भएको छ । जिल्लाका ५० जना किसानलाई गड्यौलापालनसम्बन्धी तालिम दिएर नयाँ प्रविधिबाट खेती गर्न तत्कालका लागि किसानलाई १० किलो गड्यौला वितरण गरिएको छ । प्रमुख मण्डल यस प्रविधिप्रति अन्य जिल्लाका किसानलाई पनि आकर्षित गर्ने योजना रहेको बताउनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts