Saturday, July 9, 2016

बागलुङलाई लप्सी उत्पादनको ‘पकेट क्षेत्र’ बनाइने

बागलुङ, २५ असार । जिल्लाको जैदी र रायडाँडा गाविसलाई लप्सीको पकेटक्षेत्र बनाइने भएको छ । दुबै गाविसका चार सामुदायिक वनमा योवर्ष पाँच हजार ९०० लप्सीका बिरुवा रोपिएको छ । जिल्ला वन कार्यालयले सामुदायिक वनका उपभोक्तालाई निःशुल्क रुपमा बिरुवा उपलब्ध गराएको हो ।

जैदीको देछो सामुदायिक वन र रायडाँडा– ३ को एकिनधारा कल्लेरी, दोहोटे र ढाँडपानी सामुदायिक वनमा लप्सी लगाइएको हो । जिल्ला वन अधिकृत विन्दुकुमारी मिश्रकाअनुसार जैदीमा तीनहजार ५०० र रायडाँडामा दुईहजार ४०० लप्सीको बिरुवा रोपिएको छ ।

जिल्लामा सञ्चालित वनदशक कार्यक्रम अन्तर्गत लप्सीको पकेटक्षेत्र निर्माणको कार्यअघि बढेको अधिकृत मिश्रले बताउनुभयो ।

‘बागलुङमा लप्सीको सम्भावना राम्रो छ, यसको व्यावसायीकरण हुनसकेको छैन’ अधिकृत मिश्रले भन्नुभयो ‘दक्षिण भेगका केही ठाउँमा नमुना पकेटक्षेत्र बनाउने योजना बनाएका छौ ।’ त्यस क्षेत्रमा वर्षौं पहिले लप्सीको रुख प्रशस्त हुने गरेपनि पछिल्लो समय नासिँदै गएको उहाँको भनाइ छ ।

जिल्लाको अन्य क्षेत्रमा पनि लप्सी विस्तार गर्न सकिने अधिकृत मिश्रले बताउनुभयो । छिमेकी पर्वत जिल्लामा लप्सी प्रशोधन केन्द्र रहेकाले केन्द्रको पायकपर्ने क्षेत्रमा तत्कालको लागि लप्सी विस्तार गर्न लागिएको हो । बागलुङमा लप्सी फले पनि प्रशोधन केन्द्र र लप्सीबाट बन्ने वस्तु उत्पादन गर्ने कुनै उद्योग सञ्चालनमा छैन ।

बहुआयामिक रुखको प्रजातिमा पर्ने लप्सी घाँस, काठ र फलका लागि उत्तिकै महत्वपूर्ण रहेको सामुदायिक वन उपभोक्ता महासङ्घ बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

उहाँले छिटफुट रुपमा बागलुङको वन क्षेत्रमा लप्सी पाइए पनि विस्तार हुन नसकेको उल्लेख गर्नुभयो ।
लप्सीबाट अचार, क्याण्डी, माडालगायतका विभिन्न वस्तु बनाउन सकिने उहाँको भनाइ छ । त्यस्ता वस्तु बिक्रीको लागि बजारको समस्या नरहेको भन्दै उहाँले योजनावद्ध रुपमा लप्सीको व्यावसायिक उत्पादन गरिनपर्ने बताउनुभयो ।

लप्सीको पकेटक्षेत्र बनेपछि त्यसले स्थानीय उपभोक्ताको जीविकोपार्जनमा सुधार ल्याउने जिल्ला वन कार्यालयको विश्वास छ ।

वन संरक्षण, व्यवस्थापनका अतिरिक्त कार्यालयले जीविकोपार्जन सुधारसम्बन्धी आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको सहायक जिल्ला वन अधिकृत रामबहादुर विकले बताउनुभयो । बागलुङमा ९० हजार हेक्टर वन क्षेत्र रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts