Monday, July 25, 2016

बाढीले एक बेपत्ता, तीन दर्जनभन्दा बढी घर डुबानमा

पोखरा, ११ साउन । सोमबार साँझदेखि परेको भीषण वर्षासँगै आएको बाढीले कास्कीको हेम्जामा बालुवा निकाल्ने क्रममा एक महिलालाई सेती नदीले बगाएर बेपत्ता बनाउनुका साथै तीन दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

म्याग्दी घर भई हेम्जामा बस्दै आएकी ४० वर्षीया मोतीकला छन्त्याललाई सोमबार साँझ सेती नदीले बगाएको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।

सेती नदीमा आएको भीषण बाढी पोखराको रामघाटमा थुनिँदा सुकुम्बासी बस्तीका छ घर डुबानमा परेका छन् । प्रहरीले रातिनै उनीहरुलाई सुरक्षित स्थानमा सारेको थियो ।

रामघाटबाटै बगाएर ल्याएका छ वटा बङ्गुर पनि निकालिएको प्रहरी नायब उपरीक्षक बज्राचार्यले बताउनुभयो ।

यस्तै, पोखराको कस्केरीमा रहेका २० वटा सुकुम्बासीका घर पनि डुबानमा परेका छन् । त्यस्तै, कास्कीको पार्चे गाविसमा मादी नदीले दुईवटा व्यक्तिगत घर र एउटा सामुदायिक क्लिनिक समेत बगाएको छ ।

सो ठाउँका वलसिंह भुजेल र आसबहादुर भुजेलको घर बगाएपछि उनीहरु नजीकको दूध पोखरी माध्यमिक विद्यालयमा बसेका छन् ।

यसरी नै पोखराको छोरेपाटनमा दुई घर डुबानमा पर्नुका साथै १२ घरमा पानी पसेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts