Sunday, July 10, 2016

भोटेकोसी नदी कटानले थप चार घर बगायो

चौतारा, २६ असार । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोकको तातोपानी गाविस–४ लिपिङ बजारमा आज थप चारवटा पक्की घर बगाएको छ ।

शनिबार बेलुकादेखि आज अपराह्नसम्ममा लिपिङ बजारका थप चारवटा पक्की घर बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

तातोपानी क्षेत्रमा पानी नपरे पनि चिनियाँ भू–भागमा वर्षा भइरहेकाले नदीमा बाढी आउने क्रम नरोकिएको र नदीको बहाव बढिरहेको हुँदा तातोपानीदेखि लिपिङसम्म दुई किमी क्षेत्रमा रहेका झन्डै १५० घर अझै उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले बताउनुभयो ।

बाढीबाट विस्थापितका लागि कुनै निकायबाट राहत प्राप्त भएमा समन्वयको काम गर्ने गरी आज तातोपानी गाविस सचिव डम्बरबहादुर श्रेष्ठको संयोजकत्वमा सीमा प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दल र नागरिक समाज सम्मिलित स्थानीय विपद व्यवस्थापन समितिको गठन भएको छ ।

बाढीले एनसेलको टावरसमेत बगाएको तथा त्यहाँ रहेको नेपाल टेलिकमको टावरलाई विद्युत् अभावले सीमा प्रहरी कार्यालयबाटै इन्धन व्यहोरेर दैनिक दुई÷तीन घन्टा जेनेरेटर चालु गरी सञ्चारको वैकल्पिक व्यवस्था हुँदै आएकाले सम्बन्धित निकायले चाँडै व्यवस्था नगरेमा धेरै दिन धान्न नसकिने प्रहरी निरीक्षक भुसालले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts