काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काले विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटामा काँग्रेस नहिँडेको बताउनुभएको छ ।
स्ववियु शङ्करदेव क्याम्पसले ३४ औँ बिपी स्मृति दिवसका अवसरमा यहाँ आज आयोजित ‘राष्ट्रिय राजनीतिः बिपी विचार र विद्यार्थीको भूमिका’ विषयको विचार गोष्ठीमा उहाँले बिपीका विचार पार्टीमा लागू हुन छाडेको विचार व्यक्त गर्दै पार्टीलाई साँच्चिकै जनताको पार्टी बनाउन बिपीका विचार आत्मसात् गर्नुपर्छ भन्नुभयो ।
“काँग्रेस सत्तामा जान हतारिन्छ । आफ्नो भ्रातृ सङ्गठन चलायमान गराउन सकेको छैन”¬उहाँले थप्नुभयो, “ लामो समयमा बित्दा पनि नेविसङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घको महाधिवेशन गर्न सकेको छैन ।”
स्ववियुका निवर्तमान सभापति शुभराम बस्नेतका अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहाल, नेविसङ्घका उपाध्यक्ष ऐन महर, केन्द्रीय सदस्य कृष्णकुमारी बस्नेत लगायतले बिपीको विचारलाई काँग्रेसले आत्मसात् गदै लैजानुपर्नेमा जोड दिनुभयो ।
भद्रपुर– सो अवसरमा काँग्रेस भद्रपुर नगर समितिले झापाको चन्द्रगढीमा आज प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा झापा काँग्रेस सभापति उद्धव थापा, महाधिवेशन प्रतिनिधि लोकराज ढकाल, महिला सङ्घ झापा क्षेत्र नं ३ का सभापति शर्मिला अधिकारी, काँग्रेस झापाका कोषाध्यक्ष केशवराज पाण्डे लगायतले बिपीको समाजवाद तथा काँग्रेसको आदर्शका बारेमा प्रकाश पार्नुभएको थियो ।
मकवानपुर– यसै उपलक्ष्यमा काँग्रेस मकवानपुरले आज हेटौँडा नगरपालिका–२२ मा वृक्षरोपण गरेको छ । सो अवसरमा कपुर, सिसौ र सल्लाका करिब ५०० बिरुवा रोपिएको थियो । वृक्षरोपणको काँग्रेस मकवानपुरका पूर्वसभापतिद्वय रामचन्द्र अर्याल र रघुरमा न्यौपानेले शुभारम्भ गर्नुभएको थियो ।
यसैगरी नेपाल तरुण दलद्वारा भीमफेदीस्थित प्राथमिक उपचार केन्द्र र हेटौँडा अस्पतालका बिरामीलाई फलफूल र भिटामिन वितरण गरिएको थियो ।
पथरी (मोरङ)– सो अवसरमा आज विराटनगरमा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको छ ।
नेपाली लेखक सङ्घ मोरङको सहकार्यमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा मधु पोखरेल, ऋतु आसिक, हरि कट्टेल, ताराबहादुर बुढाथोकी, गण्डकीपुत्र, रमेशचन्द्र अधिकारी, राज लम्साल, कविता केशरी, मञ्जरी घिमिरे, दीपक शम्चु, चिना थापा कार्की, उमेश लुइँटेल, सुमित्रा भट्टराई र शिवनारायण पण्डितले आआफ्ना सिर्जना वाचन गर्नुभएको थियो । रासस
No related posts.
No comments:
Post a Comment