Tuesday, July 19, 2016

फोक्सिङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाइने

पोखरा, ५ साउन । कास्की जिल्लाको निर्मलपोखरी गाविसस्थित फोक्सिङकोट क्षेत्रलाई धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा विकास गरिने भएको छ । नेपालका बाइसे चौबिसे राजाको पालादेखि अस्तित्वमा आएका प्रसिद्ध कोटहरूमध्येको फोक्सिङकोट उचित प्रचारप्रसार एवम् पूर्वाधार विकासको अभावमा ओझेलमा परेको भन्दै उक्त क्षेत्रको विकासमा स्थानीयवासी सक्रियरुपमा लागेका छन् ।

बाइसे चौबिसे राजाकै पालादेखि पूजाआजा हुँदै आएको फोक्सिङकोटमा महाकालीको मन्दिरसहित माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरिलगायतका हिम शृङ्खला र पोखराको दृश्यावलोकनका लागि भ्यूटावर निर्माण गर्न लागिएको छ ।

फोक्सिङकोट कालिका मन्दिर तथा भ्यूटावर निर्माण समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलका अनुसार लगभग पाँच रोपनी क्षेत्रफलको जग्गामा महाकालीको मन्दिरसहित भ्यूटावरलगायतका संरचना निर्माण गर्न लागिएको हो ।

बृहत् गुरुयोजनाअन्तर्गत रु एक करोड ३५ लाखको लागतमा मन्दिर, भ्यूटावरलगायत अन्य भौतिक पूर्वाधार विकास गर्ने योजना राखिएको जानकारी दिँदै उहाँले हाल निर्माणाधीन मन्दिर रु १६ लाखको लागतमा निर्माण गर्न लागिएको बताउनुभयो ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत रु सात लाख, संस्कृति मन्त्रालयको संस्कृति सम्बद्र्धन कार्यक्रमअन्तर्गत रु एक लाख र अन्य स्थानीय सहयोगबाट मन्दिर निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको समितिले जनाएको छ ।

निर्माणाधीन मन्दिरमा राखिने महाकालीको ७०।६ किलोग्राम ढलौटको रु एक लाख ७० हजार १४५ लागतको मूर्ति पोखरा उमनपा–१७ का धनबहादुर गुरुङ र रु ३६ हजार लागतको गजुर पोखरा उमनपा–९ का सुदनकुमार मुल्मीले सहयोग गर्नुभएको अध्यक्ष पोखरेलले जानकारी गराउनुभयो ।

यसैबीच, मन्दिरमा राखिने मूर्ति तथा गजुर मङ्गलबार स्थानीयवासीले बाजागाजाका साथ भित्र्याएका छन् ।

परम्परागत पञ्चेबाजा तथा भजन कीर्तनसहित गाउँका विभिन्न स्थान हुँदै फोक्सिङकोटमा मूर्ति तथा गजुर भित्र्याइएको थियो ।

उक्त समारोहमा नेपाली काँग्रेसका नेता देवराज चालिसे, नयाँ शक्ति नेपाल कास्कीका संयोजक किरण थापा, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, नेपाली काँग्रेस कास्कीका सचिव रामराज लामिछाने, निर्माण समितिका उपाध्यक्ष काशीराम अधिकारी, सचिव सोमनाथ भण्डारीलगायतले मन्दिर, भ्यूटावरलगायतका पूर्वाधार निर्माणसँगै फोक्सिङकोट क्षेत्र धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts