कञ्चनपुर, २३ असार । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को पचुईदेखि बरैयासम्मको सडक निर्माणमा अनियमितता भएको भन्दै उपभोक्ता समितिका पदाधिकारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
बेलौरी नगरपालिकाको पचुईदेखि बरैयासम्मको अधुरो सडक निर्माणका लागि निर्वाचन पूर्वाधार विकास कार्यक्रमबाट रु १० लाख बजेट हिनामिना भएको जनाउँदै उपभोक्ता समितिका उपाध्यक्ष राजेन्द्र चन्द र सचिव वीरेन्द्र चन्दले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरमा उजुरी दिएका हुन् ।
उपभोक्ता समितिका उपाध्यक्ष, सचिवसहित ५२ जनाले संयुक्त रुपमा हस्ताक्षर गरी अख्तियार कार्यालयमा उजुरी दिएको सचिव चन्दले बताउनुभयो । उहाँका अनुसार सडकमा ग्राभेलिङ गर्नका लागि अध्यक्ष र सचिवको नाममा संयुक्त खाता सञ्चालन गर्नका लागि स्थानीय विकास अधिकारी मोहन पौडेलले तोक आदेश गरेको भए पनि आदेश कार्यान्वयन नगरी अध्यक्ष एक्लैले खाता सञ्चालन गरी अनियमितता गरेको उहाँले बताउनुभयो ।
जुन ठाउँमा सडक निर्माण गर्नुपर्ने हो त्यहाँ गरिएन उहाँले भन्नुभयो – “मापदण्ड विपरीत कमसलखाले ग्राभेलिङ गरी अनियमितता गरिएको छ ।” उपभोक्ता समितिका अध्यक्ष भवानी चन्दले सडक निर्माणका लागि आएको रकममा कुनै किसिमको अनियमितता नभएको बताउनुभयो । उहाँले भन्नुभयो – “फ्रिज जान लागेको रकम ल्याएर जनताको हितमा प्रयोग गरिएको छ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरका सूचना अधिकारी विष्णुसिंह विष्टले कार्यालयमा सडक निर्माणमा अनियमितता भएको भनेर परेको उजुरीमाथि छानबिनको कार्य भइरहेको बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment