Thursday, July 7, 2016

उपभोक्ता मारमा

गाईघाट (उदयपुर), २३ असार । सदरमुकाम गाईघाट बजारका तरकारी बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न बजार पसलमा व्यापारीले कृत्रिम ढक तथा तराजु प्रयोग गरेर उपभोक्तालाई ठग्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, त्रियुगा उद्योग वाणिज्य सङ्घ र त्रियुगा नगरपालिकाका प्रतिनिधिहरुले बजार अनुगमन गर्ने क्रममा केही व्यापारीबाट कृत्रिम ढक तराजु जफत समेत गरेका छन् । तर ती व्यापारीलाई उचित कारबाही नहुँदा उनीहरुले बारम्बार गल्ति गर्दै आएका उपभोक्ताको गुनासो छ । गाईघाट बजार, बगाहा बजार, देउरी र जलजले बजारमा कृत्रिम ढक र तराजु छ्यापछ्याप्ती रुपमा व्यापारीले प्रयोग गरेर उपभोक्ता ठग्ने गरेका स्थानीय उपभोक्ता दिनेश खड्काले बताउनुभयो ।

बगाहा बजारको तरकारी बजार तथा पसलमा ढुङ्गाको ढक व्यापारीले प्रयोग गर्ने गरेका कारण आफूहरु ठगिनुपरेको स्थानीयवासी विष्णुदेव चौधरीले बताउनुभयो । “दुई किलो आलु किनेर ल्याए, घरमा ल्याएर जोख्दा एक किलो ८०० ग्राम मात्र भयो,” उहाँले भन्नुभयो । देउरी र जलजले बजारमा समेत स्थानीय उपभोक्ता मारमा परेका छन् ।

गाईघाटस्थित तरकारी बजारमा अहिले आधाजसो पसलमा व्यापारीले ढक तराजु कृत्रिम प्रयोग गर्ने गरेका उपभोक्ता देविका थापाले बताउनुभयो । यस्ता ढक तथा तराजुबाट उपभोग्य वस्तु किन्दा प्रतिकिलो एकसय ग्रामदेखि १५० ग्रामसम्म तौल कम पाइएको छ । सम्बन्धित निकायले अनुगमन नगर्दा कृत्रिम ढक, तराजुको प्रयोग बढ्दै गएको उपभोक्ताको गुनासो छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts