बैतडी, ८ भदौ । अविरल वर्षासँगै जमिन भासिएर विस्थापित भएका परिवारका लागि नेपाली सेना र नेपाल प्रहरीले टेन्ट निर्माण गरेको छ ।
बैतडीको तल्लादेहीमा गएको नेपाली सेना र नेपाल प्रहरीको टोलीले पीडित परिवारको बसोबासका लागि मङ्गलबार अस्थायी रुपमा टेन्ट हाउस निर्माण गरेको हो ।
क्याप्टेन सुमन बस्नेतको नेतृत्वमा ११ जना नेपाली सेना, प्रहरी सहायक निरीक्षक धीरेन्द्र जोशीको नेतृत्वमा १० जना प्रहरीसहित गएको टोलीले दुईवटा टेन्ट निर्माण गरेको हो ।
सो टेन्टमा लोगे सार्की र धौले सार्कीको परिवार बसेको छ । टोलीले टेन्ट निर्माण गर्ने काम सकिएपछि बाँकी सातवटा टेन्ट गाउँले आफैँले निर्माण गर्ने बताएपछि प्रहरी र सेनाको टोली फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले राससलाई जानकारी दिनुभयोे ।
तल्लादेही गाविसको वडा नं ८ डाँडाखालीमा गएको साउन २१ गते राति परेको अविरल वर्षाले चार घरपरिवारको घर पुरेको थियो भने पाँचजनाको घर जमिन भासिएर क्षति पुगेको थियो । डाँडाखालीका अन्य ४३ परिवार पनि जोखिममा रहेको बताइएको छ ।
जमिन भासिएर घरवारविहीन परिवारका लागि स्थानीय रनी बोहराले अस्थायी टहरा निर्माणका लागि जमिन उपलब्ध गराएका हुन् । पीडित परिवारको स्थानान्तरणका लागि जमिनको खोजीमा रहेको प्राविधिक टोलीको रोहबरमा तल्लादेही गाविस–८ दासीढुङ्गामा आफ्ना नाममा रहेको मकैबारी बोहराले पीडित परिवारलाई निःशुल्करुपमा अस्थायी टहरा निर्माणका लागि जमिन दिएको तल्लादेही गाविसका सचिव डम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।
तत्कालका लागि पहिरोबाट घरबारविहीन भएका चार परिवार र जमिन भासिएर घरमा बस्न नमिल्ने भएर विस्थापित भएका पाँच परिवार गरी नौ घरपरिवारको अस्थायी बासोबासका लागि बोहराले जमिन उपलब्ध गराउनुभएको हो ।
साउन २१ गते परेको अविरल वर्षाका कारण तल्लादेही–८ डाँडाखालीमा जमिन भासिएर ५२ घरपरिवार जोखिममा परेका छन् । तीमध्ये पहिरोका कारण चार घरपरिवार घरबारविहीन भएका छन् भने जमिन भासिएर पाँच घरपरिवार विस्थापित भएका छन् ।
पीडित परिवार अहिले स्थानीय लोखाडी प्राविमा आश्रय लिएर बसिरहेका छन् । तल्लादेहीको डाँडाखालीमा जमिन भासिएर डेढफिट तल सरेको बताइएको छ । रासस
No comments:
Post a Comment