ललितपुर, १८ साउन । ललितपुरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिले स्थानीय निकायको सङ्ख्या १० वटा हुनुपर्ने आयोगसमक्ष माग राखेका छन् ।
स्थानीय निकाय पुनःसंरचना आयोगले तयार गरेको प्रतिवेदनअनुसार यहाँ स्थानीय निकायको सङ्ख्या छ वटा बनाउने प्रस्ताव गरिएको छ । भौगौलिक हिसाबले जिल्लाको कुल भू–भागको आधा भाग दक्षिणी भेगस्थित ग्रामीण क्षेत्र परेकाले स्थानीय निकायको सङ्ख्या थप्नुपर्नेमा उनीहरुको जोड थियो ।
हाल यहाँ ललितपुर उपमहानगरपालिका सहित बज्रबाराही, कार्यविनायक, गोदावरी र महालक्ष्मी नगरपालिका रहेका छन् । यसैगरी १९ वटा गाविस रहेका छन् । सबै गाविस जिल्लाको सदरमुकामबाट ग्रामीण क्षेत्रमा पर्दछ ।
राजनीतिक दलको संयुक्त बैठकले १० वटा निकाय हुनुपर्ने माग गर्दै स्थानीय निकाय पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलको ध्यानाकार्षण गराएको राजनीतिक दल संयत्रका संयोजक एवम् नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन घिमिरेले बताउनुभयो । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले), नयाँ शक्ति पार्टी, क्रान्तिकारी माओवादीलगायतका प्रतिनिधिको संयुक्त टोलीले अध्यक्ष पौडेलको ध्यानाकर्षण गराएको हो ।
आयोगले बनाएको प्रतिवेदनअनुसार बज्रबाराही र कार्यविनायक नगरपालिकालाई एकआपसमा गाभिनुपर्ने बताइएको छ । यसैगरी गोदावरी र महालक्ष्मी नगरपालिकालाई जोड्नुपर्ने जनाइएको छ । ललितपुर उपमहानगरपालिकालाई सिङ्गो राख्ने र १९ वटा गाविसलाई तीनवटा गाउँ पालिकामा परिणत गरिनुपर्ने आयोगको प्रतिवेदनमा उल्लेख छ ।
आयोगले बनाएको प्रतिवेदनअनुसार उपत्यकाभित्र एउटा नगरपालिकामा ९५ हजार जनसङ्ख्या हुनुपर्ने प्रावधान राखिएको छ । यस्तै गाउँपालिकामा २५ हजार जनसङ्ख्या कायम हुनुपर्ने जनाइएको छ ।
विसं २०६८ को तथ्याङ्क अनुसार बज्रबाराही र कार्यविनायक नगरपालिकालाई गाभिँदा ७७ हजार २२९ जनसङ्ख्या रहने छ । यसैगरी गोदावरी र महालक्ष्मी नगरपालिकालाई एक आपसमा गाभिँदा ९० हजार ९७५ जनसङ्ख्या रहने छ । रासस
No related posts.
No comments:
Post a Comment