Friday, August 26, 2016

विधिसम्मत महाधिवेशन गर्न माग

काठमाडौँ, १० भदौ । नेपाल तरुण दलका नेताले विधिसम्मत महाधिवेशन गर्न माग गरेका छन् ।

दलका असन्तुष्ट नेताले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकारसम्मेलन गरी भागबन्डाका आधारमा महाधिवेशन गरे आफूहरुलाई मान्य नहुने चेतावनी दिएका हुन् ।

कार्यक्रममा दलका नेता रमेश खरेलले तरुण दलको महाधिवेशनमा सबैले भाग लिने वातावरण बनाउन नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले चारपटक मिति तोक्दा पनि अधिवेशन हुन नसक्नु दुःखद कुरा भएको बताउनुभयो ।

उहाँले नेतृत्व सङ्गठन कब्जा र भागबन्डा गर्न लागेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “बाँके, रुकुम, धादिङलगायत जिल्लामा रहेको विवाद मिलाएर मात्र अधिवेशन गर्नुपर्छ अन्यथा अधिवेशन गर्न खोजे हामी भाग लिँदैनौँ ।”

दलका अर्का नेता नारायणप्रसाद भट्टराईले २६ वटा जिल्लाको अधिवेशन हुन नसकेको वर्तमान अवस्थामा महाधिवेशन हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेतृत्वले एकलौटी ढङ्गले सदस्यता बाँडेको छ यसको विरुद्ध हामी लड्छौँ ।”

उहाँले तरुण दलको विधानलाई आत्मसात् गरे समयमा महाधिवेशन गर्न सकिने भन्दै तीन दिनभित्र आफ्नो माग सम्बोधन गर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

दलका अर्का नेता राम रोकायाले तरुण दलको विधान प्रादेशिक संरचनामा बनाउन नेतृत्वलाई आग्रह गर्नुभयो ।

तरुण दलको चौथो राष्ट्रिय महाधिवेशन यही भदौ २४ देखि पोखरामा हुने गरी तोकिएको छ । दलको २०६१ सालमा जनकपुरमा भएको महाधिवेशन पछि २०६८ साल माघ २८ मा उदयशम्शेर राणाको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts