गोरखा, १८ साउन । अविरल वर्षापछि बुढीगण्डकी नदीमा उर्लेको बाढीले उत्तरी गोरखाको सिर्दिबास गाविस¬–१ स्थित जगत् बजारका १० वटा घर बगाएको छ । १५ वटा घर उच्च जोखिममा रहेका छन् ।
बुढीगण्डकी नदीको बाढीले धार परिवर्तन गर्दा घर बगेको स्थानीयवासी राजेन्द्र कार्कीले जानकारी दिनुभयो । बुढीगण्डकीले शनिबारदेखि आजसम्म १० वटा घर बगाइसकेको छ । घर बगेपछि विस्थापित भएका जगत्का स्थानीय जनता त्रिपाल टाँगेर बस्दै आएका छन् ।
बुढीगण्डकीको बाढीले जगत्का पूर्णबहादुर गुरुङ, कृष्णबहादुर लामा, अभिषेक लामा, विशाल गुरुङ, बेलबहादुर लामा, दिलमाया गुरुङ, हिमाली घले, मानबहादुर गुरुङ, कमानसिंङ घले र धनबहादुर गुरुङको घर बगाइसकेको छ ।
भूकम्पले क्षति पु¥याएका घरहरु स्थानीयले ऋण खोजेर मर्मत गरिसकेका थिए । स्थानीय लक्ष्मण घलेका अनुसार बाढीले तीनवटा होटल बगाएको छ । जगत मनास्लु पदमार्गअन्तर्गत पर्ने बजार हो । यहाँ मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को ‘चेक प्वाइन्ट’ पनि छ ।
बाढीले जगतको हेलिप्याड बगाएको छ । बुढीगण्डकीमा भेल आउने क्रम नरोकिएपछि थप घरहरु पनि बगाउने भन्दै स्थानीय त्रासमा रहेका जगत्की सरिता घलेको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘उर्लेको बुढीगण्डकी बस्तीमा पस्दा घर बगायो’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बुढीगण्डकी नदी छेउ भएका घरहरु बगेको भन्दै मानिसहरु सुरक्षित ठाउँमा सरिसकेको जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment