महेन्द्रनगर (धनुषा), २३ साउन । प्रहरीले जनकपुरमा हातहतियारसहित एक समूहलाई पक्राउ गरेको छ ।
आज दिउँसो जनकपुर उपमहानगरपालिका–९ वंशीचोकबाट सरसमानसहित चोरी र डकैतीमा संलग्न रहेको भन्दै नौजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जनकपुर उमनपा–२६ बस्ने सन्तोषकुमार यादव, चन्द्रेश्वर यादव, मानसिंह पट्टि–४ बस्ने रोशन महरा, पौडेश्वर–८ बस्ने मोहमद सकरुद्दिन मुवारक राईन र महोत्तरी भमरपुरा–३ बस्ने एसानुल राईन रहेका छन् ।
प्रहरीले वंशीचोकस्थित गङ्गाप्रसाद यादवको घरमा डेरा गरी बस्ने पौडेश्वर–८ निवासी १९ वर्षीय इल्याकत राईनको डेरामा खानतलासी गर्दा कटुवा पेस्तोल दुई थान, ज ८ प ९६४७ नं लेखेको हरियो रङको पल्सर मोटरसाइकल एक थान, ल्यापटप एक थान, ताल्चा फुटाउने औजार, मास्टर रेन्च तीन थान, खुकुरी एक थान र केही भिजेका कपडा फेला परेको थियो ।
प्रहरी नायब उपरक्षक नकुल पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त डेरा सन्तोष र इल्याकत मिलेर लिएको, उक्त कोठामा चोरीका समान भण्डारण गर्ने गरिएको र इल्याकतसहित अन्य तीनजना यस कार्यमा संलग्न रहेको बुझिएको छ ।
प्रहरीले इल्याकतसहित अन्यको खोजी गर्दा आज जउमनपा आसपास क्षेत्रमा इल्याकत राईनलगायत धनुषाधाम नगरपालिका–१ बस्ने ‘रुपेश’ भन्ने रुपनारायण यादव र सबैला नगरपालिका –९ बस्ने कैलाश यादवलाई ज ५ प ४१२६ मोटरसाइकल सहीत नियन्त्रणमा लिएको छ ।
इल्याकतले आफूहरु चोरी कार्यमा संलग्न रहेको र मोटरसाइकल चोरी गरी ल्याएको तथा कटुवा पेस्तोल भारतबाट किनेर ल्याएको स्वीकार गरिसकेको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई हातहतियार खरखजाना ऐनअन्तर्गत म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
–––––––
No related posts.
No comments:
Post a Comment