काठमाडौँं, ८ भदौ । नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भन्नुभयो, ‘‘संविधानले नै ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, त्यसैले संविधान कार्यान्वयनको लागि पनि चुनाव समयमै गर्नुपर्छ ।’
उहाँले चुनाव तोकिएकै मितिभित्र सम्पन्न नभए संविधान नै असफल हुने भएकाले त्यसका लागि कसैले भाग लिए पनि नलिए पनि चुनाव भएरै छाड्ने जिकिर गर्नुभयो ।
समयमै चुनाव सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नका लागि वर्तमान सरकार गठन भएको भन्दै उहाँले प्रचण्ड सरकार सविधानको कार्यान्वयन गर्न र चुनाव गराउनकै लागि गठन भएको बताउनुभयो ।
नेता गजुरेलले पुनःसंरचना आयोगले भने बमोजिम नै सरकारले चुनाव गर्ने र आयोगले पनि स्थानीय तहको सङ्ख्या र सीमा निर्धारण गर्दा जनसङ्ख्या, भूगोललाई आधार बनाएर जनताको आवश्यकता अनुसार सबै सेवा सुविधा प्राप्त हुनेगरी निर्धारण गर्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका नेता एनपि साउदले आयोगले सिफारिस गरे बमोजिम ५६५ को सङ्ख्याको बारेमा आफ्नो पार्टीले कुनै सहमति नजनाएको भन्दै सो सङ्ख्या अव्यवहारिक रहेको आरोप लगाउनुभयो ।
उहाँले यो सङ्ख्या बढाएर कम्तीमा अहिलेको इलाकाको सङ्ख्या ९२७ लाई आधार बनाएर निर्धारण गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो ।
चुनाव गराउनका लागि राजनीतिक सहमति हुनुपर्ने बताउँदैँ उहाँले अहिलेको सङ्क्रमणकालीन अवस्थामा विद्यमान गाविसको सङ्ख्यालाई आधार मानेर पनि चुनाव गराउन सकिने विचारव्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।
। उहाँले भन्नुभयो, “पुरानै व्यवस्था अनुसार चुनाव हुनुपर्छ भन्ने कुरा संविधान सम्वद्ध छैन, यो चुनाव नगराउने र नहुने षड्यन्त्र मात्रै हो, संविधान कार्यान्वयन गर्नको लागि पनि समयमै चुनाव गर्नुपर्छ, हाम्रो पार्टी यसमा पूर्ण सचेत छ ।”
सचिव आचार्यले समयमै निर्वाचन नगरेर मुलुकलाई राजनीतिक र संवैधानिक भ्याकुममा धकेल्न खोजिएको आरोप लगाउनुभयो ।
मधेसी मोर्चाका नेता मनिष सुमनले संविधान संशोधन नगरी चुनाव हुनै नसक्ने बताउँदै “मधेसी, आदिवासी, जनजाति सबैका भावनालाई समेटेर संविधान संशोधन गरी यसलाई सर्वस्वीकार्य बनाउनुपर्छ ।” भन्नुभयो । रासस
No comments:
Post a Comment