काठमाडौँ, ७ भदौ । गत वर्षको भूकम्पमा क्षति भएका उपत्यकाका ४९ हजार ९७७ घर परिवारको लगत सङ्कलन भएको छ ।
उपत्यकामा एक लाख ११ हजार ३०० घरधुरीको लगत सङ्कलन गर्नुपर्ने छ । योसँगै ५४ प्रतिशत लगत सङ्कलनको काम सकिएको छ । यो भदौ ६ गतेसम्मको तथ्याङ्क हो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकामा करिब ४०० इन्जिनियर टोलीसहित प्राविधिक, सामाजिक परिचालनकर्ता फिल्डमा खटाएको छ ।
काठमाडौँमा २२ हजार ८२०, ललितपुरमा १४ हजार ८०८ र भक्तपुरमा १२ हजार ३४९ घरपरिवारको लगत सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका सहसचिव खुमराज कोइरालाले सर्भेक्षण जारी भएको र भदौ १५ गतेसम्ममा सम्पूर्ण घरपरिवारको लगत लिइसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “लगत सङ्कलनको ५४ प्रतिशत काम सकिसकेको छ । १५ गतेसम्म सबैको लगत लिइने लक्ष्य लिएको छ । अब हामी लगत लिइसकेको स्थानबाट अनुदान वितरण सम्झौता गरी बैंकमा पहिलो किस्ता दिने तयारी पनि सँगैसँगै गरिरहेका छौँ ।”
लगत सङ्कलनको अनुगमन गाविसस्तरमा, १० जना बराबर एक जना सुपरभाइजर हुँदै केन्द्रीय तथ्याङ्क विभागमा आएपछि काठमाडौँ उपक्षेत्रीय कार्यालयले गर्दै आइरहेको छ । रासस
No related posts.
No comments:
Post a Comment