चितवन, २४ साउन । नेकपा माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य अम्बिका मुडवरीले राजनीतिसँगैे माछापालन व्यवसाय थाल्नुभएको छ । मुडवरीलाई उहाँका श्रीमान नारायण शर्माले राजनीतिसँगै माछापालनमा साथ दिइरहनुभएको छ । शर्मा नेकपा माओवादी क्रान्तिकारीका जिल्ला कार्य समितिको सदस्य हुनुहुन्छ ।
सशस्त्र द्वन्द्वको समयमा पूर्णकालीन कार्यकर्ताका रुपमा सङ्घर्षमा होमिएको मुडवरी र शर्माको जोडी यतिबेला राजनीतिसँगै माछापालन व्यावसायमा सक्रिय छ । शर्मा ओखलढुङ्गा, झापा, भारतको जलपाइगुडी हँुदै तथा मुडवरी नुवाकोट, काठमाडाँै हँुदै चितवन आइपुग्नुभएको हो । दुवै जना विद्यार्थीकालीन राजनीतिसँगै पार्टीको दलीय राजनीतिमा प्रवेश गर्नुभएको हो । अहिले उहाँहरु भरतपुर उपमहानगरपालिका–१४ मा बस्दै आउनुभएको छ ।
तीन वर्षअघि पश्चिम चितवनको चन्द्रनगरमा माछापालन व्यवसाय थालेको उक्त जोडीले गत वर्षबाट चितवन नगरपालिकाको शङ्कर चोकमा व्यवसाय सुरु गरेको छ । तीन बिगाहा जग्गा भाडामा लिएर ६ वटा पोखरीमा माछा पालिएको छ । “साथीभाइसँग ऋण गरेर रु १० लाखको लागतमा माछापालन सुरु गरेको हुँ,” शार्माले भन्नुभयो– “अहिलेसम्म रु आठ लाखको माछा बिक्री गरे ।”
राजनीतिमा रहँदै गर्दा परिवार पाल्न मुस्किल परेपछि व्यवसायमा हात हालेको मुडवरीको भनाइ छ । “राजनीति पेसा होइन सेवा हो, जीविकाका लागि पेसा गर्नुपर्छ,” उहाँले भन्नुभयो । पछिल्लो समय राजनीतिलाई पेसाका रुपमा लिइँदै गर्दा उनीहरुका लागिसमेत सन्देश दिने गरी सो दम्पती व्यवसायमा लागेको छ । पहिलो संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नं ५ बाट मुडवरीलाई उम्मेदवार बनाइए पनि जनमोर्चासँग मिलेका कारण उहाँले उम्मेदवारी फिर्ता लिनु परेको थियो । रासस
No comments:
Post a Comment