काठमाडौँ, २७ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘श्रम विधेयक, २०७२’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत ग-यो ।
श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले श्रमबजारलाई व्यवस्थित गर्न विधेयकले सहयोग पु¥याउने बताउनुभयो ।
छलफलमा भाग लिँदै सांसद चूडामणि जङ्गलीले सामाजिक सुरक्षा बिमालाई विधेयकले समेट्न नसकेको बताउनुभयो । उहाँले प्रदेशस्तरमा पनि श्रम सल्लाहकार समिति गठन हुनुपर्ने माग गर्नुभयो ।
सांसद डिल्लीप्रसाद काफ्ले श्रम विधेयक क–कसलाई लागू हुने हो स्पष्ट हुनुपर्ने र १८ वर्षमुनिका बालबालिकालाई कुनै श्रममा लगाउन नहुने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
अर्का सांसद भरतकुमार साहले अहिले ट्रेड युनियनको जमाना नभई कार्यक्षमताको जमाना भएको र युनियन हावी भए लगानीलाई प्रोत्साहन नहुने बताउनुभयो ।
यसैगरी, बैठकमा मन्त्री गुरुङले ‘लिस्ट अफ इन्स्टुमेन्ट एडाप्टेड बाइ द इन्टरनेसनल लेबर कन्फरेन्स समिटेड टू द लेजिस्लेचर पार्लियामेन्ट’ (सन् २००७–२०१३) माथि संक्षिप्त वक्तव्य दिनुभयो । उहाँले फोर्स लेबर रिकमेन्डेसन, २०१४ बारे पनि जानकारी दिनुभयो ।
वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक
बैठकबाट ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण विधेयक, २०७२ लाई दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउने प्रस्ताव स्वीकृत भयो । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सो प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी, कृषि विकासमन्त्री गौरी शङ्कर चौधरीले ‘अन्तर्राष्ट्रिय कफी सङ्गठन, २००७’ को पक्ष राष्ट्र बन्ने सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि (एग्रिमेन्ट अन इन्टनेसनल कफी एग्रिमेन्ट) माथि संक्षिप्त वक्तव्य दिनुभयो । सन्धिपछि नेपालमा सो क्षेत्रमा लगानी बढाउन सकिने बताउँदै उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपाली कफीबारे जानकारी गराउने अवसर मिल्ने जानकारी दिनुभयो ।
संसद्को अर्काे बैठक यही भदौ २९ गते बुधबार बिहान ११ बजे बस्नेछ । रासस
No comments:
Post a Comment