कञ्चनपुर, १७ भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा रहेको भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण कार्य अगाडि बढाएको खानेपानी आयोजना निर्माणको कार्य पर्याप्त बजेटको अभावमा अगाडि बढ्न सकेको छैन ।
आठ करोड ८९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाका लागि प्रतिवर्ष थोरै बजेट मात्रै विनियोजन हुँदा निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्न नसकेको हो । पाँच वर्षभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यअगाडि बढाइएको आयोजनाको आव ०७०÷७१ देखि निर्माण कार्य प्रारम्भ गरिएको थियो ।
सो वर्ष आयोजना निर्माणका लागि रु तीन लाख, आव ०७१÷७२ मा रु २७ लाख, आव ०७२÷७३ मा रु ४० लाख र चालु आवमा रु १३ लाख मात्रै बजेट विनियोजन भएको आयोजना निर्माण समितिका अध्यक्ष गणेश सिंह धामीले बताउनुभयो । उहाँका अनुसार हालसम्म आयोजनाका लागि दुईवटा बोरिङ, पर्खाल र चौकीदार बस्नका लागि घर निर्माण गरिएका छन् । “पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणको कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सकिएको छैन”, अध्यक्ष धामीले भन्नुभयो । निम्बुखेडा, खैरभटटी, भगतपुर, कटान र सालघारीका गरी एक हजार २०० भन्दा बढी बासिन्दाका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ आयोजनाको कार्य सुरु गरिएको हो । रासस
No comments:
Post a Comment