काठमाडौँ, २० भदौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधानले असन्तुष्ट पक्षलाई पनि ‘स्पेस’ दिएको कुरा बुझाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज संविधान दिवस, प्रचारप्रसार उपसमितिको बैठकमा उहाँले भन्नुभयो, “संविधानमा धेरै सकारात्मक कुरा छन्, त्यसमा पनि असन्तुष्ट पक्षका लागि सबैभन्दा सकारात्मक कुरा भनेको यसमा संशोधनको गुञ्जायस छ ।”
उपसमितिका अध्यक्षसमेत रहनुभएका मन्त्री कार्कीले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजन लगायत सरकारी सञ्चारमाध्यमले आफूले प्रसारण गर्ने गरेका विभिन्न भाषाभाषीका कार्यक्रममा संविधानबारे बुझाउनुपर्ने बताउनुभयो । “विशेषगरी विभिन्न तराई केन्द्रीय भाषामा संविधान संशोधन भइसकेको छ भनेर बुझाइदिनुहोस् ।”
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले संविधान दिवसका अवसर पारेर विभिन्न सञ्चारमाध्यमका सम्पादक र वरिष्ठ पत्रकारलाई बोलाएर संविधानको कार्यान्वयनमा सञ्चार क्षेत्रको भूमिका के छ अब कस्तो भूमिका निर्वाह गर्नुपर्छ जस्ता कुरामा बहस चलाउनुपर्ने बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका महाप्रबन्धक निर्मला आचार्यले आफ्नो संस्थाले संविधानबारे बुझाउने खालका लेख, आलेख र समाचारलाई प्राथमिकतामा राखिरहेको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान दिवससँगै विरोधी विचारलाई पनि तटस्थ भएर प्रसारण गर्नुपर्ने बताउनुभयो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा रहेको संविधान दिवस मूल समारोह समितिले पहिलो संविधान दिवस (असोज ३ गते)का अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ । तीन दिने कार्यक्रमअन्तर्गत असोज २ गते सञ्चारमाध्यममा संविधानबारे प्रचारप्रसार, असोज ३ गते सैनिक मञ्चमा विशेष कार्यक्रम र असोज ४ गते रेडियो नेपालमा फूलबारी कार्यक्रम, लोकदोहोरी प्रतियोगितासँगै विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा मनाइने कार्यक्रम छ । रासस
No related posts.
No comments:
Post a Comment