Sunday, September 11, 2016

रानीपोखरी पुनःनिर्माणका लागि सहमति भयो

काठमाडौँ, २७ भदौ । पुरातत्व विभाग र काठमाडौँ महानगरपालिका बीच सहमति भएपछि रानीपोखरी पुनःनिर्माणको काम यसै सातादेखि हुने भएको छ ।

मापदण्ड विपरीत पुनःनिर्माणका काम भएको भन्दै पुरातत्व विभागले निर्माणको लागि जिम्मा पाएको कामपालाई गत १६ गतेदेखि निर्माणको काम रोक्न निर्देशन दिएको थियो ।

निर्माण भइसकेका संरचना सच्याउने र अब बनाउने संरचना पनि विभागले भनेअनुरुप बनाउने सहमति भएपछि यसै साताबाटै फेरि पुनःनिर्माणको काम सुरु हुने विभागका प्रवक्ता रामबहादुर कँुवरले बताउनु भयो ।

ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको भनाइ छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका वस्तु प्रयोग भएकाले विभागले निर्माणमा रोक लगाएको थियो ।

रानीपोखरी निर्माणका लागि रु छ करोड २९ लाखमा ठेक्का पाएकामा हालसम्म रु एक करोड ५० लाख खर्च भइसकेको सो ठेकेदार कम्पनीले जनाएको छ ।

२०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोरासहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरीे संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts