दोलखा, १७ भदौ । दैनिक गुजारा चलाउँदै आएको आफ्नो थातथलो छोडेर जान कसैको मन मानेन । यही थातथलो नछोड्दा आएको पहिरोले छ्योत छ्योत गाउँका केहीलाई जिन्दगीले नै छोडेर गयो ।
माथिल्लो तामाकोसी आयोजानाको ड्यामसाईट भन्दा तल्लो क्षेत्रमा रहेको सो गाउँमा तामाङ समुदाय जीविकाका लागि बसोवास गर्दै आएका थिए ।
बुधबार राति करिब १० बजे लामाबगर गाविस– ४ स्थित छ्योत छ्योत गाउँको माथिल्लो लेकबाट खसेको पहिरोले चारवटा घर पुरिएर दुई जनाको मृत्यु र पाँचजना बेपत्ता भए ।
गाउँमाथिको लेकबाट मध्यरातमा झरेको भीषण पहिरोले बस्ती पुरेपछि पीडित बनेका गाउँबासीले भेटिएको शवको दाहासंस्कार त गरे तर पहिरोमा बेपत्ता भएकाहरु अझै फेला नपर्दा शोकाकुल बनेका छन् ।
लामाबगरमा निर्माण भइरहेको माथिल्लो तामाकोसी जलबिद्युत् आयोजनाको पावर हाउस गोंगरबाट बाँधस्थल पुग्ने सडकखण्डमा पर्ने सो गाउँ सदरमुकाम चरिकोटबाट ६१ किलोमिटरको दुरीमा पर्छ ।
घटनास्थल पुगेर फर्किनुभएका प्रहरी नायव उपरीक्षक रवीन कार्कीकाअनुसार बस्ती भन्दा माथिल्लो क्षेत्रबाट झरेको पहिरोले स्थानीयवासीका घर बगाएर तामाकोसी नदीमा पु¥याएको र पहिरोले नदी केहीबेर थुनिएका कारण बेपत्ता भएका व्यक्ति नदीमा बगेको हुनसक्ने आशङ्का छ ।
पहिरोले स्थानीय विक्रम तमाङ, उनका बाबु मङ्गले तमाङ र मीनबहादुर ठकुरीको दुईवटा घर बगाएकाले घटनामा मङ्गलेका छोरा विक्रमको घरमा सुतेका विक्रमका भाइ २१ वर्षीय गदुले तमाङ र छिमेकी पतमार्याँ तामाङ पहिरोमा पुरिएर मृत अवस्था फेला परेका थिए ।
मङ्गलेको घरमा सुतेका मङ्गलेसहित उनकी श्रीमती पातमाया, छोरी तिर्सी, तिर्सीकी छोरा क्षेसाङ, मङ्गलेकी सासु सतमाई तमाङ बेपत्ता भएका छन् ।
माथिल्लो तामाकोसीको टनेलमा मजदुरी गर्दै आएका विक्रम घटनाका बेला कार्यस्थलमै थिए । घरमै रहेका बिक्रमकी श्रीमती लालमाई र छोरी लक्ष्मी भागेर राति ओढारमा बसेर ज्यान जोगाए ।
पहिरो माथिल्लो भागबाट झरेर तामाकोसी नदीसम्म आइपुगेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सशस्त्र सुरक्षा बलका प्रमुख प्रहरी नायव उपरीक्षक खेमबहादुर थापा मगरले टेलिफोनमा जानकारी दिदै भन्नुभयो– ‘‘आँखाले हेर्न नभ्याउने गरी बस्ती भन्दा माथिल्लो लेकबाट पहिरो झरेर नदीमा मिसिएको छ’’ ।
हराइरहेका व्यक्ति र सुतेको घरको कुनै चिज फेला नपरेकाले बेपत्ता भएकालाई तामाकोसी नदीले बगाएको हुनसक्ने प्रहरीको आशंका छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र जनपत प्रहरीको टोलीले हिजो दिनभर र आज हराइरहेकाको खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । स्थानीयवासी यादव आचार्यकाअनुसार बुधबार साँझदेखि नै सो क्षेत्रमा भारी वर्षात् भएको थियो ।
प्रहरी नायव उपरीक्षक कार्कीले भारी वर्षात्का कारण यो क्षेत्रका विभिन्न स्थानमा पहिरो झरेकाले जोखिम अझै रहेको, गोंगर प्रहरी चौकीको माथिल्लो भागबाट पहिरो खसेकाले चौकी समेत जोखिममा परेको र तामाकोसी आयोजना नजिकको पहिरोमा आयोजनाको ठेकेदार कम्पनीमा कार्यरत चिनियाँ मजदुरसमेत घाइते भएकाले उनलाई बिहीबार नै हेलिकप्टरबाट राजधानी लगिएको बताउनुभयो । गोकर्ण भण्डारी/रासस
No comments:
Post a Comment