Sunday, September 18, 2016

संयुक्त वक्तव्यप्रति क्रान्तिकारी माओवादीको आपत्ति

काठमाडौँ, २ असोज । नेकपा (क्रान्तिकारी माओवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाल र भारतले सार्वजनिक गरेको संयुक्त वक्तव्यका केही बुँदाप्रति आपत्ति जनाएको छ ।

क्रान्तिकारी माओअवादीका अध्यक्ष मोहन वैद्यले आज एक प्रेस विज्ञप्ति जारी गरी संयुक्त वक्तव्यमा उल्लेखित विषय नेपाल र नेपाली जनताको हितविपरीत रहेको बताउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “संयुक्त वक्तव्यमा विवादास्पद पञ्चेश्वर जलविद्युत् आयोजनालाई ब्युँझाइएको, बिप्पा समझौताप्रति सहमति जनाइएको, माथिल्लो कर्णाली, अरुण–३ सहितका ऊर्जा व्यापार सम्झौता, ऊर्जा विकास सम्झौता आदिलाई निरन्तरता दिँदै व्यापार, पारवहनसहित आर्थिक, राजनीतिक, सामरिक, सांस्कृतिकलगायत विविध पक्षमा भारतीय विस्तारवादद्वारा गरिएका हस्तक्षेपलाई नवीकरण गरिएको कुरा स्पष्ट देखिन्छ ।”

संयुक्त वक्तव्यमा उल्लेख भएको संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को उम्मेदवारीमा नेपालले भारतलाई सघाउने वचन दिइनु असंलग्न परराष्ट्र नीति विपरीत हुने विज्ञप्तिमा उल्लेख छ ।

माओवादीले भारतसँग गरिएका सन् १९५० को सन्धि, ऊर्जा व्यापार सम्झौता, माथिल्लो कर्णाली जलविद्युत् परियोजनालगायत असमान तथा राष्ट्रघाती सन्धि सम्झौता एवम् सहमतिको खारेजीसहित नयाँ आधारमा नयाँ सम्झौता तथा सहमति गर्न विशेष जोड दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts